२०८३, असोज ९ गते

images
Logo

Sep 25 2026 | २०८३, असोज ९ गते

images
  • शुक्रबार, असोज ९ २०८३
images

सुधन गुरुङबारे छानबिन समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन


सञ्चार डबली
  • शुक्रबार, जेठ २२ २०८३
  • 4.2K
    SHARES

  • images
    सुधन गुरुङबारे छानबिन समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन

    काठमाडौँ / तत्कालीन गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुधन गुरुङमाथि गरिएको छानबिनसम्बन्धी समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ ।

    छानबिन समितिका संयोजक पूर्वन्यायाधीश अच्युतम प्रसाद भण्डारीका अनुसार सम्पूर्ण अनुसन्धान प्रक्रिया सम्पन्न गरी प्रतिवेदन प्रधानमन्त्री बालेन शाहलाई हस्तान्तरण गरिएको हो ।

    उनले भने, ‘हाम्रो तर्फबाट सबै प्रक्रिया पूरा गरेर प्रतिवेदन बुझाइसकेका छौं । अब बाँकी प्रक्रिया सम्बन्धित निकायबाट अघि बढ्छ ।’ समितिले तयार पारेको प्रतिवेदन ४५ पृष्ठ लामो रहेको बताइएको छ । अनुसन्धानका क्रममा समितिले गुरुङसँग बयान पनि लिएको थियो ।

    बयान लिनुअघि समितिले उनीमाथि लागेका आरोपसँग सम्बन्धित सरोकारवाला निकायसँग छलफल गर्नुका साथै सम्पत्ति विवरणसमेत विस्तृत रूपमा अध्ययन गरेको जानकारी दिएको छ ।

    मन्त्रिपरिषद्को २८ वैशाखको निर्णयअनुसार उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य रहने गरी उक्त छानबिन समिति गठन गरिएको थियो । समितिले आरोपसँग सम्बन्धित विभिन्न पक्षसँग बुझ्नुका साथै सम्पत्ति विवरणको विस्तृत अध्ययन गरेको थियो ।

    के हो सुधनमाथि लागेको आरोप ?

    सम्पत्ति शुद्धीकरणको मुद्दामा व्यवसायी दीपक भट्ट १९ चैतमा काठमाडौँबाट पक्राउ परेका थिए । उनी हाल पनि प्रहरी हिरासतमा छन् । हिरासतमा रहेका भट्टसँग साझेदारी रहेको देखिएपछि गुरुङ विवादमा तानिएका थिए ।

    त्यसपछि सम्पत्ति विवरण सार्वजनिक गर्दा सेयर लुकाएको, विवादास्पद व्यापारीको कम्पनीमा सेयर रहेको जस्ता विषय बाहिरिएपछि ९ वैशाखमा गुरुङले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका थिए । जग्गा, सुनलगायत सम्पत्तिबारे पनि विभिन्न प्रश्न र टीकाटिप्पणी उठेका थिए ।

    राजीनामा दिँदै गुरुङले फेसबुकमा लेखेका थिए, ‘पछिल्ला दिनहरूमा नागरिक स्तरबाट सेयर लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई मैले गम्भीर रूपमा लिएको छु । मेरा लागि पदभन्दा ठूलो नैतिकता हो । जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन । मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् ।’

    यसरी छानबिन होस् भन्ने मागसहित गुरुङले राजीनामा दिएको करिब २० दिनपछि ३१ वैशाखमा सरकारले छानबिन समिति गठन गरेको थियो । त्यसयता गृह मन्त्रालय प्रधानमन्त्रीकै मातहतबाट सञ्चालन हुँदै आएको छ । समितिले उनलाई निर्दोष ठहर गरे पुनः गृहमन्त्री बन्न सक्ने चर्चा पनि चलिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend