२०८३, असोज ९ गते

images
Logo

Sep 25 2026 | २०८३, असोज ९ गते

images
  • शुक्रबार, असोज ९ २०८३
images

मुलुककाे व्यापार घाटा ३ खर्ब २४ अर्ब

दुई महिनामै ४ खर्ब ७८ अर्बको वैदेशिक व्यापार, निर्यात वृद्धिदर आयातभन्दा दोब्बर हुँदा पनि किन बढिरहेकाे छ व्यापार घाटा ?


सञ्चार डबली
  • बिहीबार , असोज ८ २०८३
  • 1.1K
    SHARES

  • images
    मुलुककाे व्यापार घाटा ३ खर्ब २४ अर्ब

    काठमाडौँ / चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा नेपालको वैदेशिक व्यापार ४ खर्ब ७८ अर्ब १० करोड ६५ लाख रुपैयाँ पुगेको छ। 

    बुधबार भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नेपालको कुल वैदेशिक व्यापार ३५.६४ प्रतिशतले बढेको हो। गत वर्ष पहिलो दुई महिनामा ३ खर्ब ५२ अर्ब ४७ करोड २७ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो।

    पहिलो दुई महिनामा आयात र निर्यात दुवैमा उल्लेख्य वृद्धि भएको छ। भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको साउन र भदौमा ४ खर्ब १ अर्ब ५१ करोड ८९ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ। 

    यो गत आर्थिक वर्षको सोही अवधिको ३ खर्ब ५ अर्ब १५ करोड ५० लाख रुपैयाँको तुलनामा ३१.५८ प्रतिशत बढी हो। यस वर्ष दुई महिनामा आयात ९६ अर्ब ३६ करोड रुपैयाँले बढेको छ।

    साउनमा १ खर्ब ८७ अर्ब ४४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएकोमा भदौमा मात्र २ खर्ब १४ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ।

    आयात बढ्नुमा केही वस्तुको मूल्य वृद्धि, चाडपर्वका लागि हुने उपभोग, पेट्रोलियम पदार्थको आयात तथा रसुवा बाढीका कारण अत्यावश्यक वस्तुको खपत बढ्नु मुख्य कारण देखिएको छ।

    अन्तर्राष्ट्रिय बजारमा केही वस्तुको मूल्य बढ्दा त्यसको असर आयात मूल्यमा परेको छ। समान परिमाणमा वस्तु आए पनि मूल्य बढ्दा आयातको रकम बढ्ने गरेको छ।

    त्यस्तै, साउन र भदौमा दसैं, तिहारलगायतका ठूला चाडपर्वलाई लक्षित गरेर विभिन्न उपभोग्य वस्तु आयात हुने भएकाले बजारमा माग बढ्दा ती वस्तुको आयात पनि बढेको छ।

    विशेषगरी साउन र भदौमा खाना पकाउने ग्यासको खपत निकै धेरै भएको देखिएको छ। ग्याससहित पेट्रोलियम पदार्थको आयात बढ्दा समग्र आयात रकममा पनि प्रभाव परेको छ।

    रसुवा बाढीका कारण आपूर्ति प्रणालीमा परेको असर र क्षतिका कारण केही वस्तुको खपत बाध्यात्मक रूपमा बढेको छ। त्यस्ता वस्तुको माग पूरा गर्न आयात बढेको देखिन्छ।

    निर्यात ६१.८६ प्रतिशतले बढ्यो

    चालु आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालले ७६ अर्ब ५८ करोड ७५ लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा ४७ अर्ब ३१ करोड ७६ लाख रुपैयाँको निर्यात भएको थियो। यस अवधिमा निर्यात ६१.८६ प्रतिशतले बढेको हो। आयातभन्दा निर्यातको वृद्धिदर करिब दोब्बर छ।

    निर्यातमा आएको वृद्धिसँगै कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा पनि बढेको छ। अघिल्लो वर्ष कुल व्यापारमा निर्यातको योगदान १३.४२ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको पहिलो दुई महिनामा बढेर १६.०२ प्रतिशत पुगेको छ।

    कुल वैदेशिक व्यापारमा आयातको हिस्सा भने घटेको छ। अघिल्लो वर्ष कुल व्यापारमा आयातको हिस्सा ८६.५८ प्रतिशत रहेकोमा यस वर्ष ८३.९८ प्रतिशतमा सीमित भएको छ। भन्सार विभागका अनुसार निर्यात हिस्सा अघिल्लो आवको तुलनामा १९.३३ प्रतिशत धेरै हो।

    व्यापार घाटा ३ खर्ब २४ अर्ब

    निर्यातको तुलनामा आयातको आकार ठुलो हुँदा व्यापार घाटा लगातार उकालाे लागिरहेकाे छ। पहिलो दुई महिनामा नेपालको कुल व्यापार घाटा ३ खर्ब २४ अर्ब ९३ करोड १४ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो घाटा २ खर्ब ५७ अर्ब ८३ करोड ७४ लाख रुपैयाँ थियो। यस अवधिमा व्यापार घाटा २६.०२ प्रतिशतले बढेको हो।

    व्यापार घाटा बढे पनि आयात–निर्यात अनुपातमा भने सुधार आएको छ। गत आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालले १ रुपैयाँको सामान निर्यात गर्दा ६ रुपैयाँ ४५ पैसा बराबरको सामान आयात गर्ने गरेको थियो। चालु आर्थिक वर्षको सोही अवधिमा यस्तो अनुपात घटेर ५ रुपैयाँ २४ पैसामा झरेको छ।

    बाढीले ब्यापारमा गरेन असर 

    भदौ १० गतेको रसुवा–भोटेकोशी बाढीको असर वैदेशिक व्यापारमा खासै देखिएकाे छैन। भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना (साउन–भदौ) सम्मको तथ्याङ्कअनुसार उत्तरी नाकातर्फको व्यापारमा केही असर गरे पनि समग्र वैदेशिक व्यापारमा उछाल आएको देखिन्छ।

    १० भदौको बाढीपछि रसुवागढी नाका पूर्णतया क्षतविक्षत भयो। त्यसयता भने उक्त नाकाबाट हुने व्यापार मुस्ताङको कोरला सरेको छ। रसुवागढी नाकाबाट साउनमा मात्रै ५ अर्ब ६७ करोड रुपैयाँको वस्तु आयात भएको थियो।   अवरुद्ध हुनुअघि भदौमा यस नाकाबाट ७ अर्ब ९१ करोड बराबरका बस्तु आयात  भएकाे थियाे ।

    तथ्याङ्कअनुसार दुई महिनामै कोरलाबाट ८ अर्ब ३३ करोड रुपैयाँको वस्तु आयात भएकाे छ जबकि साउनमा कोरलाबाट ५८ करोड रुपैयाँको वस्तु आयात भएको थियो ।

    नेपालको वस्तु आयात/निर्यातको सबैभन्दा ठूलो विन्दु भने वीरगञ्ज हो। यस नाकाबाट कुल आयातको ४९.१५ प्रतिशत र निर्यातको ४४.०५ प्रतिशत व्यापार भएको भन्सार विभागले जनाएको छ।

    इन्धन आयातमा ३ अर्ब ९७ करोड बाहिरियाे

    विभागका अनुसार भदौसम्म कुल ७३ अर्ब ९७ करोड रुपैयाँ बराबर इन्धन आयात भएको छ जबकि कुल वस्तु निर्यात ७६ अर्ब ५८ करोड रुपैयाँ बराबर रहेकाे छ।

    वनस्पति तेल तथा घिउ आयात ४८ अर्ब ५७ करोड रुपैयाँ बराबर भएको छ। त्यस्तै, सवारीसाधन तथा पार्टपुर्जा आयात दुई महिनामै २९ अर्ब २८ करोड रुपैयाँ बराबर पुगेको छ।

    मल आयात २४ अर्ब ९१ करोड रुपैयाँ बराबर भएको छ। मेसिन र पार्टपुर्जा आयातमा २४ अर्ब ९१ करोड रुपैयाँ विदेशिएको छ। आइरन र स्टिल आयातमा २३ अर्ब ४६ करोड रुपैयाँ विदेशिएको देखिन्छ।

    निर्याततर्फ सबैभन्दा ठूलो हिस्सा वनस्पति तेल समूहको ४१ अर्ब २८ करोड रुपैयाँ बराबर छ। धागो निर्यात ३ अर्ब ४६ करोड रुपैयाँ बराबर भएको छ। कफी, चिया तथा मसला निर्यात ३ अर्ब ४ करोड रुपैयाँ बराबर भएको छ।

    दुई महिनामा सबैभन्दा बढी सोयाबिन तेल भित्रियाे

    पहिलो दुई महिनामा डिजेल र पेट्रोलभन्दा बढी कच्चा सोयाबिन तेल आयात भएको छ। भदौसम्म ३८ अर्ब ५ करोड रुपैयाँको सोयाबिन तेल आयात भएको छ।

    डिजेल दोस्रो स्थानमा छ। दुई महिनामा २८ अर्ब ३ करोड रुपैयाँको डिजेल आयात भएको छ। पेट्रोल आयात १६ अर्ब १३ करोड रुपैयाँ बराबर भएको छ।

    यस्तै, खाना पकाउने एलपी ग्यास आयात १६ अर्ब २ करोड रुपैयाँ बराबर भएको छ। स्मार्टफोन ९ अर्ब ७४ करोड, ल्यापटप र नोटबुक २ अर्ब ७८ करोड तथा सुन आयात १ अर्ब १ करोड रुपैयाँ बराबरको भएको छ।

    निर्यातमा पनि सोयाबिन तेल अगाडि

    वस्तुतर्फ निर्यातको पहिलो स्थानमा सोयाबिन तेल छ। सोयाबिन तेल निर्यात ३६ अर्ब ४ करोड रुपैयाँ बराबर भएको छ। जुट वा यस्तै प्रकारका वस्तुबाट बनाइएका धागो/कपडा निर्यात २ अर्ब २३ करोड रुपैयाँ बराबर छ। सूर्यमुखी फूलको तेल निर्यात २ अर्ब ८ करोड रुपैयाँ बराबर भएको छ।

    पाम तेल निर्यात १ अर्ब ९३ करोड रुपैयाँ बराबर भएको छ। कार्पेट/टेक्सटायल आयात १ अर्ब ७६ करोड रुपैयाँको भएको छ। अलैँची निर्यात १ अर्ब ६५ करोड रुपैयाँ बराबर भएको छ।

    भारत र चीन मुख्य व्यापारिक साझेदार

    तथ्याङ्कअनुसार नेपालका मुख्य व्यापारिक साझेदार देश भारत र चीन हुन्। पहिलो दुई महिनामा भारतबाट २ खर्ब २१ अर्ब रुपैयाँको वस्तु आयात भएको छ। भारततर्फ ६५ अर्ब ४४ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ।

    चीनबाट ७६ अर्ब ४० करोड रुपैयाँको वस्तु आयात भएको छ। चीनतर्फ २९ करोड ३३ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ।

    तेस्रो स्थानमा अर्जेन्टिना छ। अर्जेन्टिनाबाट २८ अर्ब २० करोड रुपैयाँको वस्तु आयात भएको छ। साउदी अरबबाट ९ अर्ब ८४ करोड र अमेरिकाबाट ६ अर्ब ५७ करोड रुपैयाँको वस्तु आयात भएको तथ्यांक छ। अमेरिकामा ४ अर्ब १५ करोड रुपैयाँ बराबरको निर्यात भएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend