गोरखा । राष्ट्रिय वाणिज्य बैंकले गोरखा जिल्लाको भिमसेनथापा गाउँपालिका वडा नं –७, बोर्लाङ्ग ठाँटीबजारमा गाउँपालिका र वडा कार्यालयको पहलमा असोज ७ गते बुधबारदेखि सेवा केन्द्र औपचारिक रूपमा सञ्चालनमा ल्याइएको छ । सेवा केन्द्र उद्घाटनसँगै स्थानीय ७९ वर्षीया हिराकुमारी श्रेष्ठले पहिलो सेवाग्राहीका रूपमा बैंक खाता खोलेर सेवा लिनुभएको छ।
काउन्टर सञ्चालनमा आएपछि भीमसेन थापा गाउँपालिकाभित्रका नागरिकलाई बैंक खाता खोल्न, रकम जम्मा तथा झिक्नलगायतका आधारभूत बैंकिङ कारोबार गर्न सदरमुकामलगायत अन्य स्थानसम्म पुग्नुपर्ने स्थानीयको बाध्यता अन्त्य गर्दै गाउँमै बैंकिङ पहुँच विस्तार गर्ने उद्देश्यले एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको वडाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिनुभयो। कार्यक्रममा अध्यक्ष श्रेष्ठले बैंकको सेवा केन्द्र आगमनले बोर्लाङ र सो आसपासका सर्वसाधरणहरुलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा तथा सुविधा उपभोग गर्न वित्तीय पहुँच अझ सहज तथा सुलभ हुने विश्वास व्यक्त गर्नुभयो ।
सेवा केन्द्र गाउँमै पुगेपछि स्थानीय व्यवसायी, ज्येष्ठ नागरिक, कर्मचारी तथा सर्वसाधारणलाई दैनिक आर्थिक कारोबारका लागि सहज हुने देखिएको छ । काउण्टर सञ्चालनका लागि एकजना कर्मचारी, एक जना कार्यालय सहयोगी र दुई जना सुरक्षा गार्डको व्यवस्था गरिएको जनाइएको छ ।
वि.सं. २०२२ साल माघ १० गते पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकले हाल ७ वटै प्रदेशका ७७ जिल्ला सदरमुकामसहित विभिन्न गाउँ तथा शहरहरुमा रहेका ग्राहकहरुलाई अत्याधुनिक, दिगो, दरिलो र विश्वासिलो बैंकिङ्ग सेवा र सुबिधाहरु उपलब्ध गराउने उद्देश्यले सेवा केन्द्रहरु सञ्चालनमा ल्याएको छ । बैंकले कर्जा, निक्षेप सहित एटिएम, मोबाईल बैंकिङ लगायतका आधुनिक डिजिटल बैंकिङ सेवाहरु उपलब्ध गराईरहेको छ ।



