२०८३, असोज ९ गते

images
Logo

Sep 25 2026 | २०८३, असोज ९ गते

images
  • शुक्रबार, असोज ९ २०८३
images

पोखरा-दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित, सुनसान विमानस्थलमा चहलपहल


सञ्चार डबली
  • बिहीबार , असोज ८ २०८३
  • 891
    SHARES

  • images
    पोखरा-दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित, सुनसान विमानस्थलमा चहलपहल

    गण्डकी । अघिपछि सुनसान देखिने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान र आगमन कक्षमा बुधबार दिउँसोदेखि नै चहलपहल सुरू भएको थियो । फ्लाई दुबईले दुबई-पोखरा-दुबई नियमित व्यावसायिक उडान सुरू गरेपछि पहिलो उडानबाट पोखरा आउने यात्रुको स्वागतसँगै पोखराबाट दुबई जाने यात्रुको बिदाइका लागि आफन्तको भीड देखिन्थ्यो ।

    कोही घर फर्कदाँको खुसी साटिरहेका थिए, कोही परिवार र आफन्तसँग छुट्टिएर जानुपर्दाको क्षणले भावुक देखिन्थे । पहिलोपटक दुबईदेखि सीधा उडानबाट पोखरा आउने यात्रुको स्वागतका लागि स्थानीय जनप्रतिनिधि, सरकारी अधिकारी, पर्यटन व्यवसायीलगायत विमानस्थल पुगेका थिए ।

    फ्लाई दुबईको जहाज हेर्नकै लागि कतिपय जनसाधारण विमानस्थल परिसरमा झुम्मिएका थिए । यसअघि केही वायुसेवा कम्पनीले पोखराबाट अन्तर्राष्ट्रिय चार्टर उडान गरे पनि नियमित उडान हुन सकेको थिएन । फ्लाई दुबईले दैनिक उडान तालिकासहित बुधबारदेखि व्यावसायिक उडान सुरू गरेपछि पोखरेलीमाझ उत्साह छाएको छ ।

    पाँच दशकअघि पोखरामा अन्तरराष्ट्रिय विमानस्थल निर्माणको ‘सपना’ देखेका पोखरेली आफ्नो गृहसहर अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिएकामा खुसी छन् । दुबईबाट पहिलो उडानमा आएका पोखरा महानगर ३२ का कृष्णबहादुर खड्काले जहाजबाट आफ्नो गाउँ र रुपाताल हेर्दै पोखरा ओर्लदाँको क्षणले रमाइलो अनुभूति दिलाएको बताए । ‘विदेशबाट आउँदा सीधै पोखरा आएर घर जान पाइने योभन्दा खुसीको कुरा अरू के हुन सक्छ?,’ उनले भने, ‘लामो समयपछि हामी पोखरेलीको सपना पूरा भएको छ ।’

    पोखरा पर्यटन परिषद्का पूर्वध्यक्ष पोमनारायण श्रेष्ठले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि पोखरेलीले गरेको संघर्ष स्मरण गरे । ‘पचास वर्षदेखिको हाम्रो सपना पूरा भएको छ, विमानस्थल बनाउन धेरै सङ्घर्ष गर्यौं, अनसन बस्यौँ,’ उनले भने, ‘अन्ततः पोखरादेखि दुबई नियमित उडान सुरू भएको छ, यो हाम्रा लागि गर्वको क्षण हो, यसलाई दिगो र प्रभावकारी गराउने जिम्मेवारी पनि हाम्रै काँधमा आएको छ ।’

    नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले पोखरा दुबईसँग मात्र नभएर अन्य अन्तर्राष्ट्रिय सहरहरसँग पनि जोडिएको बताए । ‘दुबईलाई ट्रान्जिट बनाएर विश्वका धेरै मुलुकबाट अब सजिलै पोखरा आउन सकिने भएको छ, यसले पर्यटनसँगै आर्थिक क्षेत्रमा पनि नयाँ अवसर सिर्जना गरेको छ,’ उनले भने, ‘यो उडान सफल हुनेमा हामी ढुक्क छौँ, यात्रु र पर्यटकलाई आकर्षित गर्न पर्यटन बोर्डले दुबईलगायत अन्तरराष्ट्रिय सहरमा प्रवर्द्धनात्मक कार्यक्रम गर्ने तयारी गरिरहेको छ ।’

    पोखरा महानगरका प्रमुख धनराज आचार्यले पोखरा-दुबई सीधा उडान हुनु पोखरेलीका लागि खुसी र गौरवको विषय रहेको बताए । ‘पोखराको पर्यटन, व्यवसाय, रोजगारी र समग्र आर्थिक गतिविधिका लागि यो महत्वपूर्ण अवसर हो,’ उनले भने, ‘यो उडान एउटा जहाज उडान मात्र होइन, पोखराको अन्तर्राष्ट्रिय आकाशतर्फको नयाँ यात्राको सुरुआत पनि हो ।’

    दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे चार घण्टाको उडान अवधि पार गरेर फ्लाई दुबईको बोइङ ७३७ म्याक्स ८ जहाज बुधबार साँझ ६ः१९ बजे पोखरा अवतरण गरेको थियो । एक सय १३ जना यात्रु लिएर आएको उक्त जहाजलाई पानीको फोहराले स्वागत गरिएको थियो । पोखराबाट साँझ ७ः५५ बजे १५२ जना यात्रु लिएर जहाज दुबई फर्केको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए ।

    यो उडानसँगै पोखरासहित सिङ्गो गण्डकी प्रदेशको अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार, पर्यटन प्रवर्द्धन र यात्रु आवागमन सहज हुने उनको भनाइ । यसअघि केही वायुसेवा कम्पनीले पोखरादेखि अन्तर्राष्ट्रिय उडान सुरु गरे पनि नियमित हुन नसकेकामा फ्लाई दुबईले नयाँ आशा जगाएको उनले बताए ।

    पोखरादेखि दुबई भएर युरोप, अमेरिकालगायत विभिन्न गन्तव्य मुलुकमा जाने यात्रुलाई सहजता थपिने र यात्राअवधि छोटिँदा खर्च पनि घट्ने उनको भनाइ छ । पहिलो उडानबाट आएका यात्रुलाई पोखरा महानगरका प्रमुख धनराज आचार्य, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक डा मुकेश डङ्गोल, विमानस्थलका पदाधिकारी, कर्मचारी पोखरेली पर्यटन व्यवसायीलगायतले स्वागत गरेका थिए ।

    नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीका अध्यक्ष सङ्गीता पौडेलले नेपाल पर्यटन बोर्डको सहयोगमा यात्रुलाई विशेष उपहार प्रदान गरिएको बताइन् । ‘नाट्टामा आबद्ध व्यवसायी, होटल तथा रेष्टुराँ व्यवसायीले पनि उपहारसहित यात्रुलाई आफ्नो व्यवसायको प्रवर्द्धनात्मक सामग्री प्रदान गर्नु भयो,’ अध्यक्ष पौडेलले भनिन्, ‘सो अवसरमा फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई लक्षितगरी ल्याइएका विभिन्न छुट योजनाबारे पनि जानकारी गराइएको छ ।’

    पोखरा-दुबई सीधा उडानले पर्यटकीय राजधानी पोखरा मात्र नभएर मुलुककै सिङ्गो पर्यटन क्षेत्रलाई लाभ पुर्याउने उनको भनाइ छ । फ्लाई दुबईले दुबई-पोखरा-दुबई सीधा उडान सेवा सुरु गरेका अवसरमा पोखरामा आयोजना गर्ने भनिएको औपचारिक स्वागत समारोह भने संयुक्त अरब इमिरेट्स (युएई)का राजपरिवारका सदस्य शेख अहमद बिन राशिद अल मक्तुमको निधन भएका कारण रद्द गरिएको थियो ।

    विश्वव्यापी हवाई ‘ट्रान्जिट हब’ दुबईसम्मको सीधा उडानले पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडेको छ । विश्वका १२० भन्दाबढी गन्तव्यमा फ्लाई दुबईले सीधा उडान गर्दै आएको छ । पोखरादेखि अष्ट्रेलिया, युरोप वा अमेरिकी सहरमा पुग्ने यात्रुले एउटै टिकटबाट यात्रा गर्नसक्ने र गन्तव्यसम्म पुग्दा कुनै झण्झट नुहने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend