काठमाडौं । पछिल्लो छ दिनदेखि निरन्तर बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा बुधबार ब्रेक लागेको छ । यसदिन नेप्से परिसूचक १३.९५ अंकले घटेर २ हजार ७ सय १२.५४ अंकको बिन्दुमा आएको छ । लगानीकर्ताले नाफा बुक गर्दा आज नेप्सेमा करेक्सन आएका जानकारहरु बताउँछन् ।
बुधबार कारोबारमा आएकामध्ये ७७ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय ९३ कम्पनीको घटेको छ । आज सबैभन्दा धेरै कमाउनेमा एभरेष्ट कलर लिमिटेडका लगानीकर्ता रहेका छन् । यस कम्पनीको सेयर मूल्य १४.९९ प्रतिशतले बढेर ४ सय ९२ रुपैयाँमा आएको छ ।
आज नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । यसदिन ५ अर्ब १८ करोड ७४ लाख ६७ हजार रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । मंगलबार ६ अर्ब ६७ करोड १० लाख १७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो ।

