काठमाडौं । अजरबैजानमा जारी फिफा यू-१५ विश्वकप तथा फुटबल महोत्सव २०२६ को दोस्रो दिन नेपाली यू–१५ टोलीले फिफा अध्यक्ष जियानी इन्फान्टिनोसँग भेट गरेको छ ।
खेलाडी र पदाधिकारीसहितको नेपाली टोलीले फिफा अध्यक्ष इन्फान्टिनोसँग भेट गर्ने अवसर पाएको हो । प्रतियोगितामा नेपालले मैदानमा भने मिश्रित नतिजा निकालेको छ । नेपालले पहिलो खेलमा गिनी–बिसाउसँग ४-० गोलको हार बेहोरेको थियो ।
तर, दोस्रो खेलमा उत्कृष्ट पुनरागमन गर्दै एल साल्भाडोरलाई ३–१ गोलले पराजित गरेको छ । अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्दै अनुभव बटुलिरहेका नेपाली युवा खेलाडीका लागि फिफा अध्यक्षसँगको भेट र एल साल्भाडोरविरुद्धको जित स्मरणीय बनेको छ ।
यस प्रतियोगिताले नेपाली युवा खेलाडीलाई अन्तर्राष्ट्रिय फुटबलमा आफ्नो क्षमता प्रदर्शन गर्ने, नयाँ अनुभव हासिल गर्ने र नेपालको प्रतिनिधित्व गर्ने अवसर प्रदान गरेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।


