एजेन्सी – भेट्रान फरवार्ड तथा कप्तान क्रिष्टियानो रोनाल्डोको अर्को उच्च प्रदर्शन प्रेरित पोर्चुगलले युरो २०२४ को छनोट अन्तर्गत समूह ‘जे’ को खेलमा लक्जेमवर्गलाई ६-० ले पराजित गरेको छ । पोर्चुगलको फराकिलो जितमा क्रिस्टियानो रोनाल्डो र जाआओ फेलिक्सले दुई-दुई गोल गरे । यस्तै ओटाभियो राफेल र लिआओले समान एक-एक गोल गरे ।
पोर्चुगलले पहिलो हाफमा चार तथा दोस्रो हाफमा दुई गोल थप्दै सानदार जित निकाल्न सफल भयो । लक्जेमवर्गमा आइतबार राति गोलको वर्षा भएको एकपक्षीय खेलको नवौं मिनेटमा रोनाल्डोको गोलबाट पोर्चुगलले अग्रता लिन सफल भयो । १५औं मिनेटमा फेलिक्सले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर पारे । १८औं मिनेटमा बर्नाडो सिल्भाले गोल गरेपछि पोर्चुगल खेलमा ३–० ले अघि बढ्यो । ३१औ मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरेपछि पोर्चुगलले पहिलो हाफमा ४–० को आरामदायी अग्रता लिन सफल भयो ।
पछिल्लो दुई खेलमा रोनाल्डोको यो चौथो अन्तर्राष्ट्रिय गोल हो । रोनाल्डोले पहिलो खेलमा लिचेस्टाइन विरुद्ध पनि दुई गोल गरेका थिए । यससँगै रोनाल्डोले पोर्चुगलका लागि उनले १९८ औं खेल खेल्दै १२२ गोल गरिसकेका छन् । उनी सर्वाधिक अन्तर्राष्ट्रिय क्याप जित्ने तथा पुरुषतर्फ सर्वाधिक बढी गोल गर्ने खेलाडी हुन् ।
यस जितसँगै पोर्चुगलले समूह ‘जे’ मा २ खलेबाट ६ अंक पुगेको छ । पराजित लक्जेमवर्ग १ अंक जोडेर पाँचौं स्थानमा छ । यही समूहको अर्को खेलमा स्लोभाकियाले बोस्निया हर्जगोभिनालाई २–० ले तथा आइसल्यान्डले लिचेस्टाइनलाई ७–० ले पराजित गरेको छ । यस नतिजासँगै स्लोभाकिया ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । बोस्निया र आइसल्यान्डको समान ३ अंक छ । लिचेस्टाइन अंकविहीन हुँदै पुछारमा छ ।

