काठमाडौं - आठौं आरबिबी एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिप अर्को महिनाको सुरुवातमा आयोजना हुने भएको छ। संघको वार्षिक कार्यक्रम अनुरुप च्याम्पियन्ससिप चैत ३ देखि १० गतेसम्म राष्ट्रिय खेलकुद परिषद्को त्रिपुरेश्वरस्थित कभर्डहलमा संचालन हुने नेपाल भलिबल संघद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। च्याम्पियनसिपमा पुरुषतर्फ १२ टोली र महिलातर्फ ९ टोलीको सहभागिता रहनेछ।
प्रतियोगिताको मुख्य प्रायोजन राष्ट्रिय बाणिज्य बैंकले गरेको छ । सोही अवसरमा बाणिज्य बैंकका कार्यकारी प्रमुख किरणकुमार श्रेष्ठ र भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले सम्झौता पत्रमा हस्ताक्षर गरे। बैंकले च्याम्पियनसिपलाई प्रायोजन गरेको यो लगातार छैटौं वर्ष हो ।
वाणिज्य बैंकले संघलाई मुख्य प्रायोजन वापत १८ लाख रुपैयाँ प्राप्त गर्नेछ। प्रतियोगिताको दुवै तर्फको विजेताले ५ लाख, दोस्रोले २ लाख ५० हजार र तेस्रो टोलीले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताका सर्वोत्कृष्ट पुरुष तथा महिला खेलाडीले समान ४० हजार तथा विधागत उत्कृष्ट सेटर, ब्लकर, सर्भर, स्पाईकर, लिवेरो र प्रशिक्षकले जनही समान १५ हजार प्राप्त गर्नेछन् ।
प्रतियोगितामा झन्डै ५५ लाख रुपैयाँ खर्च हुने संघको अनुमान छ। बाणिज्य बैंकका कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले भलिबल देशको राष्ट्रिय खेल र बाणिज्य बैंक देशको पहिलो बैंक भएकोले भलिबलको लोकप्रियतालाई देखेर बैंकले केही वर्ष अगाडि देखिनै सहयोग गरेको बताउंदै आगामी दिनमा पनि मिलेर अगाडि बढ्ने बताउनुभयो । कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका उपकार्यकारी अधिकृत विमल डंगोल, विभागीय प्रमुख अच्युत गौतम, नेपाल भलिबल संघका पूर्व अध्यक्ष मनोरञ्जन शर्मा लगायत संघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २८७ वटा शाखा कार्यालय, ३०५ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।


