काठमाडौं — सम्भावित भारीदेखि अति भारी वर्षा, बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै पोखरा र विराटनगर महानगरपालिकाले दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेका छन्।
पोखरा महानगरपालिकाले असोज ८ र ९ गते सामुदायिक तथा संस्थागत विद्यालयमा स्थानीय बिदा दिएको जनाएको छ। त्यस्तै, विराटनगर महानगरपालिकाले पनि आज र भोलि विद्यालय बन्द गर्ने निर्णय गरेको छ।
जल तथा मौसम विज्ञान विभागले असोज ८ देखि ११ गतेसम्म देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। वर्षाका कारण डुबान, बाढी, पहिरो तथा सडक अवरुद्ध हुनसक्ने जोखिम रहेकाले विद्यार्थीको सुरक्षाका लागि विद्यालय बन्द गरिएको महानगरपालिकाहरूले जनाएका छन्।


