२०७९ चैत २२ गते, बुधबार
काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआई)को यहि चैत २९ गते हुने निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी अन्जन श्रेष्ठ आज बुधबार अरण्य होटल, हात्तिसारमा आयोजित औपचारिकरुपमा टिम घोषणा गर्दै आफ्नो टिमका साथमा वाचापत्र सार्वजनिक गरेको छ।
अन्जन अहिले उपाध्यक्ष छन्। महासंघमा वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने व्यवस्था छ। अहिलेसम्म रामचन्द्र संघाइ र उमेशलाल श्रेष्ठले उम्मेदवारी घोषणा गरिसकेका छन्।
घोषणा कार्यक्रमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी श्रेष्ठ समूहले वाचापत्र सार्वजनिक गर्दै जीवन्त, जिम्मेवार र जोसिलो निजी क्षेत्रको लागि आफूले उम्मेदवारी दिएको जनाएको छ। स्थानीय उत्पादनहरुको प्रवर्द्धन गर्दै औद्योगिक विकासमा अगाडि बढनुपर्ने र नेपाल जस्तो मुलुकमा कुनै पनि व्यवसाय टिकाउनको लागि व्यवसाय विस्तार गर्न जरुरी भएको भन्दै श्रेष्ठले निजी क्षेत्रको नेतृत्वले साना र मझौला व्यवसायीको समस्यालाई समेत सम्बोधन गरेर सँगै अगाडि बढ्नुपर्ने बताए।
यस्तै, उनले रेमिट्यान्सले मात्रै अर्थतन्त्रमा सुधार नल्याउने बताउँदै तत्काल ब्याज घटाउने विषयमा र तरलताको समस्या समाधानका लागि काम गर्न आवश्यक रहेको बताएका छन् । महासंघलाई नयाँ उचाईमा पुर्याउन र संस्थाको व्यवसायीक क्षमता अभिवृद्धिका साथै संस्थागत प्रभावकारीता बढाउन आफ्नो वाचापत्रलाई आधार मानेर काम गर्ने उनले स्पष्ट पारे। आफ्नो टिमले सहभावना र सहकार्यको मुल आधारलाई लिएर अगाडि बढ्ने र हरेक उद्योग व्यवसायीलाई महासंघमा पहिचान दिलाउने प्रतिबद्धता उनले जाहेर गरे ।
कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी श्रेष्ठको समूहबाट जिल्ला नगरतर्फका उपाध्यक्षमा अरुणराज सुमार्गी, वस्तुगत तर्फका उम्मेदवारतर्फ मनिष लाल प्रधानले आफ्नो उम्मेदवारी घोषणा गरे।
अन्जन श्रेष्ठ समूहसँग सहकार्य गर्दै एसोसिएट्सतर्फ उपाध्यक्ष पदमा स्वतन्त्र प्यानलबाट उम्मेदवारी दिएका भरतराज आचार्यले सामूहिकतामा विश्वास गर्ने हुँदा सोहिअनुसार सहकार्य गरिएको बताए। यस्तैगरी समूहको तर्फबाट वस्तुगत समूह तथा जिल्ला नगरतर्फका प्यानल सदस्यहरुले समेत आफ्नो उम्मेदवारी औपचारिकरुपमा घोषणा गरे।


