शनिबार, १३ असोज २०८०,
काठमाडौँ । आर्थिक लेनदेन विवादमा फिल्म ‘रावायण’का निर्माताको उजुरीपछि पक्राउ परेका अभिनेता अनमोल केसी प्रहरी हिरासतमा नबसेर महाराजगञ्जस्थित चिरायु अस्पतालमा भर्ना भएका छन् । एसएसपी कुमुद ढुंगेलका अनुसार ‘स्वास्थ्यमा समस्या’ देखिएपछि केसीलाई अस्पताल भर्ना गरिएको हो ।
आज बिदा भएकाले आइतबार जिल्ला अदालत काठमाडौँबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइने ढुंगेलले जानकारी दिए । केसीविरुद्ध आपराधिक विश्वासघातविरुद्धको कसुरमा मुद्दा दर्ता भएर अनुसन्धान भइरहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीको भनाई छ । आपराधिक विश्वासघात गरेको कसुरमा ५ वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ । छातीमा पीडा भएपछि उनलाई शुक्रबार राति नै अस्पताल भर्ना गरिएको जानकारी उनी निकट एक फिल्म निर्माताले बताए ।
भक्तपुरको साँगामा बेलुका पक्राउ गरेर प्रहरीले उनलाई अपराध महाशाखा बानेश्वरमा ल्याएको थियो । रावायण फिल्मको ‘हिरो’को भूमिकामा खेल्ने सम्झौता गरेर केसीले १० लाख रुपैयाँ एडभान्स लिएका थिए । तर, उनले फिल्म खेल्न आनाकानी गर्दा आफ्नो करिब डेढ करोड लगानी डुबेको निर्माण युनिटको दाबी छ । फिल्म निर्माणमा आवश्यक अन्य विधामा निर्माण युनिटले ऋण खोजेर १ करोड ५० लाख लगानी गरेको भन्दै निर्माण युनिटले प्रहरीमा उजुरी गरेका थिए ।



