काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले केही दिन भारी वर्षा हुने मौसम पूर्वानुमान अनुसार सचेतता अपनाउन आग्रह गरेका छन् ।
संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री वालेनले सामाजिक सञ्जालमा लेख्दै सचेतता अपनाउन आग्रह गरे ।
‘सम्भावित वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव, डुबान तथा सडक र हवाई यातायातमा समेत अवरोध हुन सक्ने भएकाले सम्पूर्ण नागरिकलाई आवश्यक सावधानी अपनाउन अनुरोध गर्दछौँ,’ उनले भनेका छन्, ‘पानी परिरहेको समयमा तथा रातिको समयमा सकेसम्म राजमार्गमा यात्रा नगर्न अनुरोध गर्दछौ । पहिरो तथा बाढीको जोखिम भएका क्षेत्र, नदी तथा खोलानजिकका क्षेत्रमा विशेष सतर्कता अपनाउन अनुरोध छ । ट्रेकिङ तथा हिमाली क्षेत्रमा जाने योजना बनाउनुभएका व्यक्तिहरूले मौसम सुधार नभएसम्म यात्रा स्थगित वा पुनर्विचार गर्नुहोला ।’
यसैगरी सरकारका तर्फबाट विपद् जोखिम न्यूनिकरणका लागि सम्बन्धित निकायलाई आवश्यक तयारी, समन्वय तथा पूर्वसतर्कता अपनाउन समेत आग्रह गरिएको बताएका छन् ।
‘सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायहरूलाई आवश्यक तयारी, समन्वय तथा पूर्वसतर्कता अपनाउन आग्रह गरिएको छ,’ उनले भनेका छन् ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी असोज ९ गतेदेखि ११ गतेसम्म देशका विभिन्न स्थानमा वर्षा, भारी वर्षा र अति भारी वर्षाको सम्भावना रहेको भन्दै सचेतता अपनाउन आग्रह गरेको छ ।



