स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा प्रस्तावित क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढिसकेको बताएकी छन् ।
आइतबार मिथिला नगरपालिका–७ स्थित प्रस्तावित निर्माणस्थलको स्थलगत अवलोकन गर्दै मन्त्री मेहताले ट्रमा सेन्टर निर्माणका लागि टेन्डर प्रक्रिया पूरा भइसकेको र छिट्टै शिलान्यास गरिने जानकारी दिएकी हुन् ।
उनका अनुसार स्वास्थ्य मन्त्रालयबाट आवश्यक प्रक्रिया पूरा गरी फाइल पूर्वाधार विकास मन्त्रालयमा पठाइसकिएको छ । बहुवर्षीय योजनाका रूपमा अघि बढाइएको परियोजना निर्माणको चरणमा प्रवेश गर्न लागेको उनले बताइन् ।
‘हाम्रो टेन्डर नै परिसकेको छ । स्वास्थ्य मन्त्रालयबाट हस्ताक्षर भएर फाइल पूर्वाधार विकास मन्त्रालयमा गइसकेको छ । बहुवर्षीय योजना भएकाले यो निर्माण सम्पन्न गर्ने दिशातर्फ अघि बढिरहेको छ,’ मन्त्री मेहताले भनिन्, ‘शिलान्यासको ठ्याक्कै मिति भन्न गाह्रो हुन्छ, तर चाँडै नै हुन्छ । ट्रमा सेन्टर यहीँ बन्छ ।’
ढल्केवरमा ट्रमा सेन्टर निर्माण भएपछि सडक दुर्घटनामा गम्भीर घाइते भएकाहरूलाई समयमै उपचार उपलब्ध गराउन सहज हुने अपेक्षा गरिएको छ । साथै, गम्भीर घाइतेलाई उपचारका लागि काठमाडौं लैजानुपर्ने बाध्यता कम हुने विश्वास गरिएको छ ।
ढल्केवरमा ट्रमा सेन्टर निर्माणका लागि संघीय सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमा पहिलोपटक रकम विनियोजन गरेको थियो । मिथिला नगरपालिका–७ स्थित प्रस्तावित निर्माणस्थलका लागि चार बिघा जग्गासमेत प्राप्त भइसकेको छ ।
स्थानीय बासिन्दाले लामो समयदेखि ढल्केवरमा ट्रमा सेन्टर निर्माणको काम अघि बढाउन माग गर्दै आएका छन् ।
सडक दुर्घटनाको जोखिम तथा गम्भीर घाइतेलाई तत्काल उपचार गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै प्रस्तावित ट्रमा सेन्टरलाई मधेश प्रदेशको स्वास्थ्य सेवा पूर्वाधारका दृष्टिले महत्त्वपूर्ण परियोजनाका रूपमा हेरिएको छ । निर्माण सम्पन्न भएपछि यस क्षेत्रका दुर्घटनापीडितले समयमै विशेषज्ञ उपचार पाउने र अन्य ठूला अस्पतालमा जानुपर्ने चापसमेत घट्ने अपेक्षा गरिएको छ ।


