मलेसियाको विद्युतीय सवारी (ईभी) बजारमा स्थानीय ब्रान्ड प्रोटोनले बलियो उपस्थिति कायम गरेको छ। सन् २०२६ को सेप्टेम्बरमा दर्ता भएका ६ हजार २९ वटा विद्युतीय सवारीमध्ये प्रोटोनका ३ हजार १६ वटा रहेका छन्। यससँगै कम्पनीले एक महिनामै ५० प्रतिशत बजार हिस्सा ओगटेको छ।
मलेसियाको सडक यातायात विभागको तथ्यांकअनुसार अगस्टमा ८ हजार ८३३ वटा विद्युतीय सवारी दर्ता भएकामा सेप्टेम्बरमा ३१.७ प्रतिशतले घटेर ६ हजार २९ मा सीमित भएको थियो। यद्यपि, प्रोटोनले आफ्नो बजार हिस्सा कायम राख्न सफल भएको छ।
सेप्टेम्बरमा प्रोटोनको ईमास ५ का २ हजार ४९० र ईमास ७ का ५२६ वटा सवारी दर्ता भएका थिए। सन् २०२६ को जनवरीदेखि सेप्टेम्बरसम्म प्रोटोनका कुल २४ हजार ८५७ वटा विद्युतीय सवारी दर्ता भएका छन्। सोही अवधिमा बीवाईडीका ८ हजार ८७७ र टेस्लाका ४ हजार ४३६ वटा सवारी दर्ता भएका थिए।
मलेसियामा विद्युतीय सवारीको बजार विस्तार भइरहँदा सन् २०२६ को पहिलो नौ महिनामै ५३ हजार ५३७ वटा सवारी दर्ता भएका छन्। यो सन् २०२५ को पूरै वर्षको ४४ हजार ८१३ वटा दर्ताभन्दा १९.५ प्रतिशत बढी हो।
नेपालमा पनि प्रोटोन ईमास ५ र ईमास ७ उपलब्ध छन्। जगदम्बा मोटर्स प्रोटोन ईमासको आधिकारिक विक्रेता हो। मलेसियामा ईमास सिरिजले हासिल गरेको सफलताले नेपाली बजारमा पनि सम्भावना देखाए पनि यहाँको मूल्य, चार्जिङ पूर्वाधार, उपभोक्ताको क्रयशक्ति र बिक्रीपछिको सेवाले यसको वास्तविक बजार प्रदर्शन निर्धारण गर्नेछ।


