२०८३, कात्तिक ९ गते

images
Logo

Oct 26 2026 | २०८३, कात्तिक ९ गते

images
  • सोमबार, कात्तिक ९ २०८३

किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा


सञ्चार डबली
  • मंगलबार, असोज २७ २०८३
  • 946
    SHARES

  • images
    किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा

    ललितपुर, २६ असोज। किष्ट शिक्षण अस्पतालअन्तर्गत किष्ट क्यान्सर सेन्टरले क्यान्सरका बिरामीलाई लक्षित गर्दै निःशुल्क जनरल बेड र टेलिमेडिसिन सेवा उपलब्ध गराउने भएको छ। अस्पतालले प्यालिएटिभ केयर सेवा सुरु गरेको एक वर्ष पूरा भएको अवसर तथा अक्टोबर महिनामा मनाइने स्तन क्यान्सर सचेतना अभियान ‘पिंक अक्टोबर’ को सन्दर्भमा यस्तो घोषणा गरेको हो।

    अस्पतालका अनुसार सन् २०२६ अक्टोबर १२ देखि ३१ सम्म क्यान्सरका बिरामीले निःशुल्क जनरल बेड र टेलिमेडिसिन सेवा प्राप्त गर्न सक्नेछन्। आर्थिक अवस्था कमजोर भएका तथा भौगोलिक कठिनाइका कारण स्वास्थ्य सेवामा पहुँच पुर्‍याउन समस्या भोगिरहेका बिरामीलाई लक्षित गरी यो पहल अघि बढाइएको अस्पतालले जनाएको छ।

    यसै अवसरमा अस्पतालले ‘पिंक लाइट्स अफ होप २०२६’ कार्यक्रमसमेत आयोजना गरेको छ। कार्यक्रममा क्यान्सरमुक्त भएका व्यक्तिहरू र चिकित्सकहरूले गुलाबी मैनबत्ती प्रज्वलन गर्दै क्यान्सरविरुद्ध ऐक्यबद्धता व्यक्त गरेका थिए। ‘हरेक मैनबत्तीको आफ्नै कथा हुन्छ’ भन्ने सन्देशसहित आयोजित कार्यक्रमले क्यान्सरविरुद्धको संघर्ष, साहस र आशालाई सम्मान गरेको थियो।

    किष्ट शिक्षण अस्पतालले प्यालिएटिभ केयर सेवामार्फत क्यान्सरलगायत गम्भीर रोगबाट प्रभावित बिरामीको पीडा कम गर्ने, जीवनको गुणस्तर सुधार गर्ने तथा बिरामी र तिनका परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने लक्ष्य राखेको छ। यस सेवाले बिरामीको शारीरिक पीडा व्यवस्थापनसँगै उनीहरूलाई आवश्यक साथ र सहयोग प्रदान गर्ने अस्पतालको भनाइ छ।

    पिंक अक्टोबर अभियानका अवसरमा अस्पतालले सर्वसाधारणलाई क्यान्सरसम्बन्धी सचेतना फैलाउन, समयमै स्वास्थ्य परीक्षण गराउन तथा क्यान्सरबाट प्रभावित व्यक्ति र परिवारलाई सहयोग गर्न आग्रह गरेको छ।

    ‘हरेक मैनबत्तीमा एउटा कथा, हरेक कथामा आशा’ भन्ने सन्देशका साथ अस्पतालले क्यान्सरविरुद्ध सामूहिक रूपमा अघि बढ्न र बिरामीप्रति संवेदनशील व्यवहार गर्न सबैलाई आह्वान गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend