काठमाडौं । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले नेपालको बाढीपछिको पुनर्निर्माणमा आफ्नो देशले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क पुगेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सँग भएको भेटवार्तापछि उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
भेटपछि फेसबुकमा लेख्दै प्रधानमन्त्री अल्बानीजले बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । उनले नेपाल पुनर्निर्माण र शोकको घडीमा रहेको भन्दै अस्ट्रेलिया नेपाली जनताको साथमा रहेको बताएका छन् ।
भेटका क्रममा उनले बाढी प्रभावित नेपालीप्रति अस्ट्रेलियाको समवेदना व्यक्त गर्नुका साथै यसअघि आफ्नो देशले उपलब्ध गराएको सहयोगबारे पनि जानकारी गराएका थिए ।
अल्बानीजले बाढीमा बेपत्ता भएका अस्ट्रेलियाली नागरिकका अवस्थाबारे पनि प्रधानमन्त्री बालेनसँग जानकारी लिएको बताएका छन् ।
उनले बाढीबाट प्रभावित नेपालीलाई आवश्यक पर्ने ठाउँमा सहयोग पुर्याउन अस्ट्रेलियाले नेपालसँग मिलेर काम गर्ने बताएका छन् ।


