काठमाडौं । नेपालको प्रमुख बहुपक्षीय विकास साझेदार एसियाली विकास बैंक (एडिबी)ले नेपालमा आफ्नो वित्तीय सहयोगलाई थप विस्तार गर्ने भएको छ। सन् २०२९ सम्ममा नेपालका लागि एडिबीको सहयोग २.४ अर्ब अमेरिकी डलर (करिब ३ खर्ब २० अर्ब रुपैयाँभन्दा बढी) पुग्ने अनुमान गरिएको छ।
नेपालको दुईदिने भ्रमणमा रहेका एडिबीका अध्यक्ष मासातो कान्डाले यसबारे जानकारी दिएका हुन्। यो सहयोग एडिबीको 'देशीय साझेदारी रणनीति २०२५–२०२९' अन्तर्गत उपलब्ध गराइनेछ, जसले मुख्य गरी रोजगारी सिर्जना, निजी क्षेत्रको विकास, दिगो पूर्वाधार, सार्वजनिक सेवा प्रवाह, डिजिटल रूपान्तरण तथा महिला र जोखिममा रहेका समूहको सशक्तीकरणलाई प्राथमिकता दिनेछ।
अध्यक्ष कान्डाको भ्रमणका क्रममा एडिबी र नेपाल सरकारबीच कुल १६५ मिलियन अमेरिकी डलर बराबरको दुईवटा ऋण सम्झौतामा हस्ताक्षर भएको छ।
-
खानेपानी तथा सरसफाइ (११५ मिलियन डलर): यो परियोजनामार्फत नेपालका साढे ८ लाखभन्दा बढी नागरिकलाई सुरक्षित खानेपानी र सरसफाइ सेवा उपलब्ध गराइनेछ।
-
भन्सार आधुनिकीकरण (५० मिलियन डलर): यो नीतिगत ऋणमार्फत नेपालका सीमा नाकाहरूमा वस्तु आवागमन प्रणालीलाई आधुनिक र डिजिटल बनाइनेछ, जसले व्यापारिक लागत घटाई बजारमा प्रतिस्पर्धात्मकता बढाउनेछ।
एडिबीले यस वर्ष नेपाललाई उपलब्ध गराउने वार्षिक ऋण सहयोग ६६० मिलियन अमेरिकी डलरसम्म पुग्ने अपेक्षा गरेको छ।
नेपाल र एडिबीबीचको साझेदारी ६० वर्ष पुगेको अवसरमा अध्यक्ष कान्डाले प्रधानमन्त्री वालेन्द्र शाहसँग भेटवार्ता गरे। भेटमा नेपालको आर्थिक रूपान्तरण, रोजगारी सिर्जना र लगानी प्रवर्द्धनका लागि एडिबीको सहयोगलाई अझ सुदृढ बनाउने विषयमा छलफल भयो।
यसअघि सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भएको भेटमा व्यावसायिक वातावरण सुधार र सरकारका आर्थिक वृद्धिका प्राथमिकताहरूमा एडिबीको सहयोगबारे कुराकानी भएको थियो। साथै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग मिलेर अध्यक्ष कान्डाले काठमाडौंको विद्युत् आपूर्ति सुदृढ गर्ने दुईवटा सबस्टेशनको भर्चुअल उद्घाटन समेत गरे।
उनले शिक्षामन्त्री सस्मित पोखरेलसँगै सन् २०१५ को भूकम्पपछि पुनर्निर्माण गरिएको एक विद्यालयको अवलोकन गर्नुका साथै निजी क्षेत्रका नेतृत्वकर्ताहरूसँग नेपालमा लगानीका अवसर र चुनौतीबारे विचार आदानप्रदान गरेका थिए।

