काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले शेयर बजारमा अनावश्यक त्रास फैलाइएको भन्दै सरकार साना लगानीकर्तालाई लक्षित गरेर कुनै धरपकड अभियानमा नरहेको स्पष्ट पारेका छन ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)सँग आज भएको छलफलमा अर्थमन्त्री वाग्लेले शेयर बजारप्रति सरकारको नीति स्पष्ट पार्दै साना लगानीकर्तालाई आतङ्कित पार्ने गतिविधि अनुचित भएको उल्लेख गरे । “सरकारले साना लगानीकर्तामाथि कारबाही गर्ने कुनै उद्देश्य राखेको छैन”, उनले भने ।
उनका अनुसार नेपालमा शेयर बजार अन्य धेरै क्षेत्रभन्दा व्यवस्थित र पारदर्शी रहेको छ । पेपरलेस प्रणाली, बैंकमार्फत कारोबार, लाभांश सिधै खातामा जम्मा हुने व्यवस्था, स्पष्ट कर प्रणाली तथा खरिद–बिक्रीको ट्र्याकिङ सम्भव भएकाले यो क्षेत्र विश्वसनीय रहेको उनको भनाइ थियो । “स्टक मार्केटलाई हामीले डिजिटलाइजेसनको नमूना क्षेत्रका रूपमा लिएका छौँ”, उनले भने, “अन्य क्षेत्रमा पनि यही मोडेल विस्तार गर्ने लक्ष्य छ ।”
अर्थमन्त्री वाग्लेले शेयर बजारमा लगानीकर्तालाई ‘सम्पत्ति कहाँबाट ल्यायौँ’ भनेर सोध्ने अवस्था नरहेको स्पष्ट पार्दै सरकारले धरपकडको नीति नलिएको दोहोर्याए । तर, इन्साइडर ट्रेडिङ, बजार हेरफेर (म्यानिपुलेसन) वा अन्य अनैतिक गतिविधिमा संलग्नलाई भने विद्यमान कानुनअनुसार कारबाही हुने उनले बताए ।
उनले लगानीकर्तालाई नआत्तिन आग्रह गर्दै आगामी दिनमा शेयर बजार सुधारका लागि काम अघि बढाइने जानकारी दिए । नेप्से पुनःसंरचना प्रतिवेदन अध्ययन गरी आवश्यक सुधार लागू गरिने र नीतिगत रूपमा लगानीकर्तामैत्री दृष्टिकोण अवलम्बन गरिने उनको भनाइ थियो ।

