काठमाडौँ । पछिल्लो समय सरकारले राजस्व संकलनको लक्ष्य भेट्न कठिनाइ भोगिरहेको छ। चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा कुल ४ खर्ब ९ अर्ब ७८ करोड राजस्व संकलन भए पनि लक्ष्यको जम्मा ७८.७४ प्रतिशत मात्र पूरा भएको छ।
अर्थमन्त्रालयका अनुसार मंसिर मसान्तसम्म कर राजस्व ३ खर्ब ८२ अर्ब २३ करोड, गैरकर राजस्व २४ अर्ब ७ करोड र विविध प्राप्तिबाट ३ अर्ब ४७ करोड संकलन भएको छ। गत वर्षको सोही अवधिको तुलनामा राजस्व १.६८ प्रतिशतले वृद्धि भए पनि लक्ष्यअनुसारको संकलन हुन सकेको छैन।
राजस्व संकलनमा भन्सार, मूल्य अभिवृद्धि कर (VAT) र अन्तःशुल्कतर्फ सकारात्मक वृद्धि देखिएको छ भने आयकरतर्फ भने गत वर्षको तुलनामा ८ प्रतिशतले कमी आएको छ। अर्थमन्त्रालयका अनुसार बजारमा व्याजदर घट्दा ब्याजकरबाट हुने आम्दानी घट्नु आयकर संकलनमा कमी आउनुको मुख्य कारण हो।
त्यस्तै, घरजग्गा कारोबार सिथिल हुँदा पुँजीगत लाभकर घटेको छ भने सेयर बजारबाट हुने पुँजीगत लाभकर पनि कम भएको कारण राजस्व संकलनमा लक्ष्य भेट्न कठिनाइ भएको देखिन्छ।

