काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले अहिले नेपालको अर्थतन्त्रले सामना गरिरहेको प्रमुख चुनौती तरलता व्यवस्थापनको प्रभावकारी उपयोग रहेको बताएका छन्।
बैंक तथा वित्तीय क्षेत्रमा पर्याप्त तरलता र न्यून ब्याजदर रहे पनि ठूलो पूर्वाधार तथा उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार नहुनु चिन्ताजनक भएको उनको भनाइ छ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २९औँ वार्षिकोत्सवमा बोल्दै गभर्नर पौडेलले मौद्रिक नीतिका प्रावधान अपेक्षित रूपमा कार्यान्वयन नहुँदा परिणाम देखिन नसकेको बताए। ‘तरलता छ। ब्याजदर अनुकूल छ। तर लगानी अघि बढेको छैन। मौद्रिक नीतिको प्रभाव तब देखिन्छ, जब वित्तीय क्षेत्र स्वयं सक्रिय हुन्छ,’ उनले भने।
उनले बैंकहरूको नाफा वृद्धि केवल कर्जाको दरमा निर्भर हुन नहुने उल्लेख गर्दै सेवा प्रवाहको सहजता, व्यवसाय विस्तार र प्रविधिको प्रभावकारी प्रयोगमा ध्यान दिन आग्रह गरे। सरकारको पुँजीगत खर्च बढ्नुपर्ने आवश्यकता औँल्याउँदै उनले सबै क्षेत्रको समन्वित भूमिकाले मात्र अर्थतन्त्रले गति लिन सक्ने बताए।
गभर्नरका अनुसार बैंक तथा वित्तीय संस्थाको कर्जा केही निश्चित क्षेत्रमा मात्र केन्द्रित भएको छ। कृषि, पर्यटन, ऊर्जा तथा उत्पादनमूलक क्षेत्रमा कर्जा विस्तार गर्न सके अर्थतन्त्रमा प्रत्यक्ष गतिशीलता आउने उनको तर्क छ। ‘कर्जा विस्तार जोखिम व्यवस्थापनसँगै स्थानीय आर्थिक प्राथमिकता हेरेर हुनुपर्छ,’ गभर्नरले भने।

