काठमाडौं । आइएमई डिजिटल सोलुसन लिमिटेड र खल्ती प्रा.लि.गाभिएर २०८२ साउन १ गतेदेखि संयुक्त रूपमा कारोवार सञ्चालन गरिरहेको आइएमई खल्ती लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रुपमा प्रविण रेग्मीलाई नियुक्त गरेका छन् ।
आज बसेको सञ्चालक समितीको ११ औँ बैठकले रेग्मीलाई आगामी ४ वर्षको लागि आज देखि लागू हुने गरी नियुक्त गरेको हो ।यसअघि आइएमई डिजिटल सोलुसन लिमिटेडको सिइओका जिम्मेवारीमा कार्य गरेका रेग्मी मर्जर पश्चात आइएमई खल्ती लिमिटेडको सञ्चालक समिति सदस्यका रूपमा रहि रेग्मी संस्थाको रणनीतिक नेतृत्वदायी भूमिकामा सक्रिय थिए ।
फिनटेक, बैंकिङ तथा डिजिटल ट्रान्सफर्मेसनको क्षेत्रमा डेढ दशकभन्दा बढी अनुभव संगालेका उनी नेपालको डिजिटल भुक्तानी प्रणालीलाई आधुनिक र सक्षम बनाउन महत्वपूर्ण योगदान पुर्याउँदै आएका ब्यक्ति हुन् ।
बढदै गएको डिजिटल कारोवार र क्यासलेसतर्फ उन्मुख नेपाली अर्थतन्त्रको सवालमा रेग्मीले उल्लेख्य भूमिका निर्वाह गर्ने कम्पनीले जनाएको छ।
यस अघि कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका विनय खड्का भने आफ्नो चार वर्षे कार्यकाल सकाएर विदा लिएका छन् ।रेग्मीले एक्ए संघ नेपालका संस्थापक अध्यक्षका रूपमा पनि भुक्तानी सेवा प्रदायक कम्पनीहरूबीचको सहकार्य, समन्वय र नीतिगत सुधारमा उल्लेखनीय भूमिका निर्वाह गरेका छन् ।
रेग्मीको अनुभव, दूरदृष्टि र डिजिटल भुक्तानी क्षेत्रमा नवीनता ल्याउने उनको खुवीलाई आइएमई खल्ती लिमिटेडले रणनीतिक विकासमा प्रयोग गरेर कम्पनीले उल्लेख्य सफलता हाँसिल गर्ने अपेक्षा समेत गरेको छ ।



