२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन आवश्यक : अध्यक्ष ढकाल


सञ्चार डबली
  • मंगलबार, असोज ७ २०८२
  • 5.0K
    SHARES

  • निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन आवश्यक : अध्यक्ष ढकाल

    काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रप्रति राखिने दृष्टिकोणमा परिवर्तन आवश्यक रहेको बताएका छन्।

    नेपाल आर्थिक पत्रकार समाज (सेजन) को नवनिर्वाचित कार्यसमितिलाई मंगलबार महासंघमा स्वागत गर्दै अध्यक्ष ढकालले निजी क्षेत्र देशको सबैभन्दा ठूलो रोजगारदाता भए पनि हरेक आन्दोलनमा बारम्बार निशानामा पर्नु गम्भीर विषय भएको बताए।

    उनले आन्दोलनका क्रममा निजी क्षेत्रमाथि हुने आक्रमणले यसको महत्व बुझिन नसकेको अनुभूति हुने टिप्पणी गर्दै यस्ता विषयमा सकारात्मक दृष्टिकोण निर्माण गर्न सञ्चार जगतलाई आग्रह गरे। ढकालका अनुसार निजी क्षेत्र देशको अर्थतन्त्रको मेरुदण्ड हो, जसले अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान गरेको छ।

    अध्यक्ष ढकालले हालैको जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण करिब ८० अर्ब रुपैयाँ बराबरको निजी सम्पत्ति क्षति भएको प्रारम्भिक आकलन गरिएको जानकारी दिए। उनले भने, “हामी विभिन्न राजनीतिक तथा प्राकृतिक विपत्तिहरू सहँदै यहाँसम्म आएका हौं। भदौ २३ र २४ गतेपछिको जेनजी आन्दोलनपछि सरकारी तथा निजी सम्पत्तिमा ठूलो क्षति पुगेको छ। यस अवस्थाबाट माथि उठ्नु हाम्रो ठूलो चुनौती हो।”

    यद्यपि उनले वर्तमान सरकारले छोटो समयमा नै राहत प्याकेज घोषणा गरी निजी क्षेत्रको मनोबल उकास्ने काम गरेको भन्दै महासंघले यसलाई सकारात्मक रूपमा लिएको उल्लेख गरे।

    ढकालले तथ्यमा आधारित, खोजमूलक र जिम्मेवार पत्रकारिताले निजी क्षेत्रको विश्वसनीयता बढाउनुका साथै नीतिगत सुधारका लागि दबाब सिर्जना गर्ने बताए। उनले सेजनसँगको सहकार्यलाई सधैं सकारात्मक रहेको भन्दै आगामी दिनमा पनि निरन्तरता दिने धारणा व्यक्त गरे।

    महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले पछिल्ला घटनाक्रमले उद्योगी व्यवसायीहरूमा असुरक्षाको भावना पैदा भएको बताउँदै शान्ति-सुव्यवस्था कायम गरी व्यवसायी तथा सर्वसाधारणको मनोबल उच्च राख्नुपर्नेमा जोड दिए। उनले पछिल्ला घटनाले अन्तर्राष्ट्रिय स्तरमा नेपालबारे नकारात्मक सन्देश प्रवाह भएको र यसले रोजगारीमा प्रत्यक्ष असर पार्ने बताए।

    महासंघका उपाध्यक्ष हेमराज ढकालले अर्थतन्त्र पुनःस्थापना र सुशासन कायम गर्न निजी क्षेत्र र सरकारबीच निरन्तर संवाद संयन्त्र निर्माण आवश्यक रहेको बताए। उनका अनुसार व्यवसायीले आत्मविश्वासका साथ खुला रूपमा व्यवसाय गर्न सक्ने वातावरण सुनिश्चित गर्नु अहिलेको अपरिहार्यता हो।

    त्यस्तै महासंघका कोषाध्यक्ष भरतराज आचार्यले अर्थतन्त्रको पुनर्निर्माण, नवनिर्माण र पुनरोत्थानका लागि सरकारले निजी क्षेत्रसँग आवश्यक सुरक्षा, समन्वय र सहकार्य गर्नुपर्नेमा जोड दिए।

    सेजनका अध्यक्ष भागवत भट्टराईले आर्थिक पत्रकारितामार्फत सेजनले खुला अर्थतन्त्र, उद्यमशीलता र रोजगारीका पक्षमा सधैं पैरवी गर्दै आएको बताए। महासंघ र सेजनबीच लामो समयदेखि सहकार्य रहँदै आएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि सो सहकार्यलाई निरन्तरता दिने बताए।

    महासंघले बदलिँदो पछिल्लो राजनीतिक परिस्थितिमा संयुक्त रूपमा आर्थिक विकास, रोजगारी सिर्जना र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिँदै, यसका लागि उठाइएका माग र प्रस्तावहरू देशको समग्र आर्थिक विकास र समृद्धिका लागि भएको स्पष्टिकरणसमेत दिएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend