काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको कारण नेपालमा मनसुन केही कमजोर भए पनि बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिरहेको छ । जसका कारण देशभर सामान्यतया बदलीको अवस्था रही केही स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा मध्यम वर्षा भइरहेको छ भने कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा भएको छ ।
सोमबार दिउँसो देशभर सामान्यतया बदली रहनेछ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई तथा पहाडी भूभागसहित अन्य पहाडी क्षेत्रमा मध्यम वर्षाको सम्भावना छ । लुम्बिनीको तराई, कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ ।
सोमबार राति कोशी र मधेश प्रदेशसहित अन्य पहाडी भूभागमा साधारणतया बदली रहनेछ । मधेश, कोशीको पहाडी तथा तराई भूभागका थोरै स्थानमा मध्यम वर्षा र कोशीको तराईका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ ।
मङ्गलबार दिउँसो देशभर सामान्यतया बदली रहनेछ । बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिमका पहाड–तराई तथा कोशी प्रदेशको पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ । साथै मधेश प्रदेश र कोशीको तराईका एक–दुई स्थानमा पनि मध्यम वर्षा सम्भावित छ । लुम्बिनीको तराई–पहाड, कोशी, बागमती र कर्णालीका पहाडी भूभागका केही स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ ।
मङ्गलबार राति कोशीसहित अन्य पहाडी भूभागमा साधारणतया बदली रहनेछ भने बाँकी भूभाग आंशिक बदली रहनेछ । कोशीको तराई–पहाडी भूभाग तथा अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मध्यम वर्षा र कोशीको तराईका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ ।
आगामी २४ घण्टामा विशेषगरी कोशी प्रदेशको तराई र पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सर्वसाधारणलाई सतर्क रहन र पछिल्लो मौसमी सूचनाबारे जानकारी लिन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

