सोमबार, असार १८, २०८०
काठमाडौं । देशका केही भू–भागमा आज पनि वर्षाको सम्भावना रहेको छ । सातवटै प्रदेशमा वर्षाको सम्भावना रहेको छ ।कोसी र मधेश प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाकोसमेत सम्भावना रहेको छ । त्यसैले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटनलगायत क्षेत्रहरू प्रभावित हुनसक्ने बताइएको छ । भारी वर्षा, मेघगर्जनरचट्याङ, गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका कारण हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्क रहन जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी र मधेस प्रदेशको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । वाग्मती र कोसी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ ।


