सोमबार, असार ३१, २०८१
एजेन्सी – स्पेनले युरो कप २०२४ को उपाधि जितेको छ । बर्लिनमा भएको फाइनलमा इङ्ल्यान्ड माथि २-१ को जित निकाल्दै स्पेनले युरोपेली च्याम्पियनसिपको उपाधि जितेको हो ।
दोस्रो हाफको सुरुवातमै स्पेनले गोल गर्दै खेलमा सुरुवाती अग्रता लिएको थियो । स्पेनका लागि दुई युवा विंगर गोलमा संलग्न रहे । लामिन यमालको पासमा निको विलियम्सले गोल गरे ।
तर, ७३औँ मिनेटमा पाल्मेरले गोल गर्दै इंग्ल्यान्डलाई खेलमा फर्काए । जुड बेडिङ्घमले पेनाल्टी बक्सबाट मिलाएको बलमा पाल्मेरले १८ यार्ड बक्स बाहिरबाट ‘सेकेन्ड बार’मा उत्कृष्ट गोल गरेका थिए ।
तर ८६औं मिनेटमा स्पेनले विजयी गोल गर्यो । मार्क कुकुरेलाको क्रसमा मिकेल ओयारजाबालले गोल गर्दै स्पेनलाई जित दिलाए ।
स्पेनको यो कीर्तिमानी चौथोपटक युरोपियन च्याम्पियनसिपको उपाधि हो । स्पेनले यअसघि सन् १९६४, २००८ र २०१२ गरी तीनपटक युरोपियन च्याम्पियनसिपको उपाधि जितेको थियो । इङ्ल्यान्ड भने लगातार दोस्रो युरो कप फाइनलमा पराजित भएको छ । इङ्ल्यान्डले युरो कप उपाधि जित्न सकेको छैन । इङ्ल्यान्डले १९६६ पछिको उपाधि खडेरी आज समेत तोड्न सकेन ।
स्पेनका १७ वर्षीय फरवार्ड लामिन यमल युरो–२०२४ को युवा खेलाडी बनेका छन् । यस्तै, स्पेनकै रोड्रिगो प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी चुनिए ।


