२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

२२ देशका ६० भन्दा बढी चलचित्रसहित किम्फको २१औँ संस्करण भोलीदेखि सुरु हुँदै


सञ्चार डबली
  • मंगलबार, जेठ १५ २०८१
  • 9.6K
    SHARES

  • images
    २२ देशका ६० भन्दा बढी चलचित्रसहित किम्फको २१औँ संस्करण भोलीदेखि सुरु हुँदै

     

    काठमाडौँ । काठमाडौँ अन्तरराष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को २१औँ संस्करण जेठ १६ देखि २० गते (२९ मेदेखि २ जुन, २०२४) सम्म आयोजना हुने भएको छ । काठमाडौँ महानगरपालिकाको सह-आयोजनामा हुने महोत्सव राष्ट्रिय सभा गृह र नेपाल पर्यटन बोर्डमा हुनेछ । यस वर्षको नारा ‘इकोज अफ चेन्ज’ अर्थात् ‘परिवर्तनको प्रतिध्वनि’ तय गरिएको छ । महोत्सवमा २२ देशका ६० भन्दा बढी चलचित्र प्रदर्शन हुनेछन् ।

    किम्फको अन्तरराष्ट्रिय प्रतियोगिताअन्तर्गत वृत्तचित्र, आख्यान (कथानक), लघु तथा प्रयोगात्मक चलचित्र समावेश छन । यसैगरी नेपाल पानोरामा शीर्षकअन्तर्गत विगतमा जस्तै स्वदेशी प्रतिभाका रोमाञ्चक फिल्महरु प्रदर्शन हुनेछन् । यी चलचित्रले समकालीन नेपालको कथा उजागर गर्नेछन् ।

    महोत्सव इटालियन निर्देशक ब्रान्डो क्विलिचीको ‘द टाइगर्स नेस्ट’ को एसिया प्रिमियरबाट सुरु हुनेछ । नेपालमा छायाङ्कन गरिएको यो वृत्तचित्र एक युवाको कथा हो, जो बाघको बच्चालाई सिकारीबाट बचाउन देशव्यापी साहसिक यात्रामा निस्कन्छ ।

    महोत्सव र यसअन्तर्गत प्रदर्शन हुने प्रस्तुतिका बारेमा किम्फ फाउण्डेसनकी अध्यक्ष रम्यता लिम्बू भन्नुहुन्छ, ‘चलचित्र र कार्यक्रमका लाइन-अपबाट दर्शकहरूलाई मनोरञ्जन प्रदान गरिनेछ । यस्तै नेपाली समाजलाई असर पार्ने विषयहरूमा आलोचनात्मक संवाद हुनेछ ।’ 

    किम्फ २०२४ को एउटा मुख्य आकर्षण ‘एभरेष्ट रिभिजिटेड १९२४ – २०२४’ शीर्षकमा एक शताव्दीका चलचित्र र सगरमाथा आरोहण प्रयासको दुर्लभ तस्बिरहरूको प्रदर्शनी हुनेछ ।  

    यसैगरी नेपाल-कोरिया मित्रताको ५० औँ वर्षगाँठको अवसरमा भिन्न भाषा र संस्कृतिका बिच दुई देशबिचका समानता झल्कने उल्जु माउन्टेन फिल्म फेस्टिभल कोरियाका फिल्महरूको विशेष प्रदर्शन हुनेछ ।

    महोत्सवको निर्णायक मण्डलमा बेलायतका निर्देशक-निर्माता डिना मुफ्ती, नेपालका मानवशास्त्री डा. सुरेश ढकाल, स्वीजरल्याण्डका चलचित्र सम्पादक रेजिना बत्स्र्की हुनुहुन्छ । प्रतियोगितामा अन्तरराष्ट्रिय विधाका ३ वटा फिचर आख्यान, ११ वटा फिचर वृत्तचित्र, ७ वटा लघु आख्यान र ७ वटा लघु वृत्तचित्र तथा नेपाल पानोरमा विधाका १३ वटा वृत्तचित्र र १६ वटा आख्यान छन् । अन्य अप्रतियोगी प्रस्तुति पनि रहनेछन् । 

    महोत्सवबाट अन्तरराष्ट्रिय विधामा सर्वाेत्कृष्ट फिचर वृत्तचित्रलाई १ हजार ५ सय अमेरिकी डलर, उत्कृष्ट लघु वृत्तचित्रलाई १ हजार डलर, उत्कृष्ट फिचर कथानक चलचित्रलाई १ हजार ५ सय डलर र उत्कृष्ट लघु कथानक प्रस्तुतिलाई १ हजार डलर पुरस्कार प्रदान गरिनेछ । 

    नेपाल पानोरमामा सर्वोत्कृष्ट वृत्तचित्र र उत्कृष्ट कथानक चलचित्रले क्रमशः एक लाख रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी दर्शक पुरस्कारको राशी एक लाख रुपियाँ रहेको छ । किम्फले चलचित्र निर्माता, चलचित्रप्रेमी, समीक्षक, बौद्धिक व्यक्तित्व, पर्वतारोही, कलाकार र पत्रकारका बिच अन्तरक्रियात्मक छलफल, गेस्ट लेक्चर, पुस्तक तथा फोटो प्रदर्शनी साथै प्रतिस्थापन कला प्रदर्शनी गर्नेछ ।

    महोत्सवमा ‘माउन्टेन्स म्याटर – अ कल फ्रम द हिमालयज’ शीर्षकको अन्तरक्रिया र अमेरिकी दूतावासको सार्वजनिक मामिला विभागसँगको सहकार्यमा ‘वुमेन बिहाइन्ड द क्यामेरा’ शीर्षकको प्यानल छलफल आयोजना हुनेछन् । ‘च्याम्पियनिङ योङ फिल्ममेकर्स – ब्रिटिस काउन्सिलसँग स्क्रिनिङ, प्यानल छलफल, फिल्म निर्माण सम्बन्धी अन्तरक्रियात्मक प्रदर्शनी र कथाहरूसँग नेपाली वृत्तचित्रका लागि कट, कथापिच हुनेछन् । स्वीस एजेन्सी फर डेभलपमेन्ट एण्ड कोअपरेसन (एसडीसी) को सहयोगमा नेपाली आख्यान र गैरआख्यान परियोजनाका लागि एडिट ल्याब रहनेछ । 

    महोत्सवलाई स्वीस एजेन्सी फर डेभलपमेन्ट एण्ड कोअपरेशन (एसडीसी), ब्रिटिस काउन्सिल, अमेरिकी दूतावास, फिल्म डेभलपमेन्ट बोर्ड (एफडीबी), नेपाल माउन्टेनरिङ एसोसिएसन (एनएमए), एमआईएलए प्रोडक्सन्स, पासाङ ल्हामु फाउन्डेसन, दया फाउन्डेसन, भ्वाइस अफ वुमन मिडिया (भाउ), समकालीन कला नेपाल फाउन्डेसन, टोनी हागन फाउन्डेसन, बागमती प्रदेश सञ्चार रजिस्ट्रारको कार्यालय, हिमालय इन्टरनेशनल माउन्टेन फिल्म अफ चाइना (एचआईएमएफ), जीआईजेड, डब्लुडब्लुएफ, आइसीआइएमओडी, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नर्थ फेस नेपाल, सोनाम, केटीएम सिटीले सहयोग गर्नेछन् । 

    किम्फ फाउन्डेसन गैरनाफामूलक संस्था हो । महोत्सवलाई नेपाल पर्यटन बोर्डले प्रवर्धन गरेको छ । किम्फ इटालीको टुरिन सहरमा मुख्यालय रहेको इन्टरनेशनल एलायन्स अफ माउन्टेन फिल्म (आईएएमएफ) को सदस्य हो । आईएएमएफमा २० देशका २८ संस्थाहरू सदस्य छन् । 

    महोत्सवका चलचित्र हेर्न १५० रुपैयाँको टिकट लिनुपर्नेछ । विद्यार्थीहरुका लागि १ सय रुपैयाँ टिकट दर तोकिएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend