सञ्चार डबली
शनिवार, चैत्र २४ २०८०
काठमाडौं । नेपाली चलचित्र गाउँदेखि विश्वसम्म’ भन्ने नारासहित सन् २०१६ बाट सुरु भएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ को सातौँ संस्करण अमेरिकाको न्यूयोर्कमा २०२४ सेप्टेम्बर २८ मा हुने भएको छ। नेपाल फिल्म सोसाइटीले सन् २०१६ देखि यो अवार्ड अमेरिकामा आयोजना गर्दै आएको छ ।
एटिए एभरेष्ट इन्स्योरेन्सको मुख्य प्रयोजन र सुनिल पाठक एजेण्ट अल स्टेट इन्स्युरेन्स कम्पनीको सह–प्रयोजनमा हुने अवार्डको स्थानीय मुख्य आयोजक त्रिवेणी इन्टरटेनमेन्ट एलएलसी न्यूयोर्क रहेको छ । अवार्डका अघिल्ला ६ संस्करणहरू कोलोराडो, सनफ्रान्सिस्को र न्यूयोर्क शहरमा सफलता पुर्बक सम्पन्न भएका थिए ।
नेपाल फिल्म सोसाइटीका केन्द्रिय अध्यक्ष कृष्ण मल्लका अनुसार नेपाली फिल्मको युग परिवर्तन भएको र नेपाली फिल्महरू पनि अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न योग्य भएकोले नेपाली फिल्मको सफलता विदेशमा गएर मनाउन यो अवार्ड महत्वपूर्ण छ । ‘अमेरिकामा नेपालबाट धेरै कलाकारहरू पुगेका छन्, उनीहरूसँग पुनर्मिलन गर्नु पनि अवार्डको अर्को उद्देश्य हो’, उनले भने, ‘संसारभर छरिएर बसेका नेपाली फिल्मकर्मी तथा कलाकारहरूलाई एउटै स्थानमा जमघट गराएर नेपाली मौलिक कला, संस्कृतिलाई संसारभर परिचित गराउने उद्देश्य अवार्डको हो ।’
अवार्ड आयोजनाको उद्देश्य अमेरिकामा नेपाली फिल्मको प्रवर्द्धन, नेपाली कलाकार तथा अमेरिकावासी नेपाली जनसमुदायहरू बीच प्रत्यक्ष साक्षात्कार गराउनु, नेपाललाई फिल्म पर्यटनको गन्तव्य बनाउनु रहेको आयोजक संस्था त्रिवेणी इन्टरटेनमेन्ट एलएलसी न्यूयोर्कका अध्यक्ष तथा दिल कुमारी केसी मेमोरियल फाउण्डेसन इन्क न्यूयोर्कका अध्यक्ष नवराज केसीले बताए ।
नेपाली चलचित्रको युग परिवर्तन भएको र नेपाली चलचित्रहरू पनि अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न योग्य भएकोले नेपाली चलचित्रको सफलता विदेशमा गएर मनाउनका लागि पनि यो अवार्ड महत्वपूर्ण रहेको छ।
अवार्डका प्रेस संयोजक सूर्य चन्दले अवार्डको लागि फिल्म छनोट समिति चाँडै गठन हुने र फिल्म छनोट प्रक्रिया अगाडि बढाउनुको साथै नेपालबाट अवार्ड कार्यक्रममा सहभागी हुने कलाकार तथा समावेश हुने फिल्मको जानकारी केही समय पछि प्रेस विज्ञप्ति मार्फत दिइने बताए ।



