२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

सुरक्षा पन्त वेब सिरिजमा, 'खेल’ को शुभमुहुर्त


सञ्चार डबली
  • सोमबार, पुस ९ २०८०
  • 9.3K
    SHARES

  • images
    सुरक्षा पन्त वेब सिरिजमा, 'खेल’ को शुभमुहुर्त

    काठमाडौं । नेपाली वेब सिरिज ‘खेल’को निर्माण हुने भएको छ । सिरिज निर्माण घोषणासँगै सोमबार बिहान काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा निर्देशक, कलाकार तथा प्राविधिकको उपस्थितिमा क्यामेरा र स्क्रिप्ट पूजा गरिएको छ ।

    बलिउडका दर्जन बढी चलचित्रमा सहनिर्देशन गरेका अनुराग प्रधानले निर्देशन गर्ने  यो सिरिजमा अभिनेत्री सुरक्षा पन्तले मुख्य पात्रको अभिनय गर्दैछिन् । पन्तसँगै भोला सापकोटा, सरिता गिरी, मोनिका थापा, समापिका गौतम, हेना नगरकोटी, यमप्रसाद ओली लगायतको अभिनय रहने छ । 

    सिरिज काठमाडौंभित्र करिब एक महिना छायांकन हुनेछ । निर्देशक प्रधानले एक सय वर्ष अगाडिको काठमाडौंको सेटअपमा पुरै सिरिजमा छायांकन हुने बताए । उनका अनुसार संसारभर लोकप्रिय ओटीटी प्लेटफर्म नेटफ्लिक्सको प्राविधिक मूल्यांकनमा आधारित रहेर बन्ने यो नेपाली सिरिजको पहिलो सिजन पाँच शृंखलाको हुने छ । 

    नेटफ्लिक्सको गुणस्तरमा सिरिज बनाई पेस गरे मूल्यांकन गरेर रिलिज गर्ने जानकारी प्रधानले दिए । नेटफ्लिक्समा स्ट्रिमिङ भइरहेका केही बलिउड फिल्ममा प्रधानले काम गरेका छन् । नेपाली कन्टेन्टका लागि नेटफ्लिक्सले अग्रिम लगानी नगरी पछि मूल्यांकन गरी रिलिजबारे निर्णय लिने बताएपछि आफूले सोही अनुरूप सिरिजमा काम गरिरहेको उनले बताए । यसका लागि क्यामेरा र लेन्ससहित केही छायांकन सामग्रीहरू भारतबाट ल्याइएको जानकारी उनले दिए ।

    पौराणिक र अध्यात्मको विषयवस्तुमा आधारित यो सिरिजमा चार जना साथीहरूको कथा रहने छ । संसारभर बोलीचालीमा जुनसुकै भाषा प्रयोग हुने भए पनि चलचित्रको कुनै भाषा नहुने भएकोले ‘खेल’लाई विश्वका सबैले हेर्न सक्ने बनाउने प्रधानले बताए । 

    एक दशकअघि बलिउडको चर्चित ‘बर्फी’मा इन्टर्न गरी चलचित्र यात्रा सुरु गरेका दार्जिलिङ निवासी निर्देशक प्रधानले बलिउडका फिल्म ’जग्गा जासुस,’ ‘बादशाहो,’ ‘हिटः द फस्र्ट केस,’ ‘धक धक’ लगायतमा सहनिर्देशन गरेका छन् ।

    नेपाली वेब सिरिजमा मुख्य पात्रको अभिनयका लागि अनुबन्धित अभिनेत्री सुरक्षा पन्तले आफू पहिलेदेखि नै ओटीटीको वकालत गर्दै आएको बताइन् । अब बन्ने फिल्म तथा सिरिजहरू हलमा मात्र सीमित हुन नहुने बताउँदै उनले नेटफ्लिक्सको गुणस्तर र लक्ष्यमा बनिरहेको सिरिजमा काम गर्न पाउँदा खुसी रहेको जनाइन् ।  ‘अध्ययनका लागि काठमाडौंको होस्टेलमा बस्ने साथीहरूले अध्यात्ममा आधारित खेल खेल्दै गर्दा वास्तविक जीवनमा हानि पुगेपछि त्यसबाट उम्किनलाई पुनः खेल्ने खेल कथा हो,’ उनले सिरिजका बारेमा भनिन्, ‘चार जना केटी साथीहरूको टिमको प्रमुखको रूपमा मैले काम गर्दै छु । कुनै पनि खेललाई निष्ठापूर्वक नखेल्दा हाम्रो जीवनमा कस्तो हानि हुन्छ भन्ने दर्साउन खोजिएको छ ।’

    सिरुपाते कट्स प्रालिले निर्माण गर्ने यो सिरिजका निर्माताहरू आशिषराज महर्जन र लेविसराज महर्जन हुन् भने सहनिर्माता कुनाल गुरुङ हुन् । निर्माता आशिषको कथामा निर्देशक प्रधानले पटकथा लेखेका छन् । यसका सिनेमाटोग्राफर रोशन राई हुन् । राईले पनि बलिउडका केही चलचित्रमा सिनेमाटोग्राफी टिममा रहेर काम गरेका छन् । सिरिजमा एलेक्स बसुकलाको कस्ट्युम डिजाइन, किशोर नेपालको कला निर्देशन, आस्था श्रेष्ठको सहनिर्देशन रहनेछ भने यमप्रसाद ओली प्रोडक्सन विभाग प्रमुख हुन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend