८ पुस २०८०, आइतबार
काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल र लिभरपुलले बराबरी खेलेका छन् । गएराति भएको खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । आर्सनलका गेब्रियल मागाल्हासले एक तथा लिभरपुलका मोहमद सलाहले एक गोल गरेका थिए ।
खेलको चौथो मिनेटमा आर्सनलका गेब्रियलले टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर २९औँ मिनेटमा सलाहले गोल फर्काउँदै लिभरपुललाई हारबाट जोगाए । यता, सुरुवाती अग्रता जोगाउन नसक्दा आर्सनल अंक बाँड्न बाध्य भयो ।
यो बराबरीपछि आर्सनल लिगको शिर्ष स्थानमा कायम रहेको छ । आर्सनलको १८ खेलमा ४० अंक रहेको छ । त्यसैगरी लिभरपुलको १८ खेलमा ३९ अंक छ र लिगको दोस्रो स्थानमा रहेको छ । त्यस्तै १८ खेलमा ३९ अंकनै रहेको एस्टन भिल्ला गोल अन्तरले पछि पर्दै तेस्रो स्थानमा रहेको छ ।



