काठमाडौं । अफगानिस्तान र बहराइनले एसियाली खेलुकदको क्रिकेटबाट आफ्नो नाम फिर्ता लिएपछि नेपालले खेल्ने प्रतिद्वन्द्वी पनि परिवर्तन भएका छन् ।
एसियाडमा यसअघि नेपालले जापान र कम्बोडियासँग खेल्ने तालिका थियो । नेपालसँगै यी टोली समूह बीमा थिए । तर अहिले समूह ए मा नेपालसँगै मंगोलिया र माल्दिभ्सले क्रिकेट खेल्नेछन् । यी दुवै टोली क्रिकेटमा निकै कमजोर टिम हुन् । माल्दिभ्स ८०औं स्थानमा छ भने मंगलोलिया वरीयतामा समावेश छैन ।
समूहमा ए यसअघि अफगानिस्तान थियो । अफगानिस्तानले पनि आफ्नो नाम फिर्ता लिएको छ ।
एसियाली खेलकुदमा भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश स्वतः क्वार्टरफाइनलमा छनोट भएका छन् । एसियाली खेलकुद र एकदिवसीय क्रिकेट विश्वकप सँगसँगै आयोजना हुने भएकाले यी देशहरुले आफ्नो ए टोली पठाउनेछन् । नेपालले पनि समूह चरण पार गरे यिनैमध्ये कुनै एक टिमविरुद्ध खेल्न पाउनेछ ।
एसियाली खेलकुदको क्वार्टरफाइनल खेल असोज १६ र १७ गते हुनेछ । सेमिफाइनल असोज १९ गते तथा फाइनल र तेस्रो स्थानको खेल २० गते हुनेछ । सबै खेल टी-ट्वेन्टी फर्म्याटमा हुनेछ । नेपाली टिमले एसियाली खेलकुदपछि घरेलु मैदानमा नै आयोजना हुने टी-ट्वेन्टी विश्वकप छनोट खेल्ने तालिका छ ।



