सोमबार, भदौ २५, २०८०
काठमाडौं । अग्रता जोगाउन नसक्दा आयरल्यान्ड युरो–२०२४ छनोटमा नेदरल्यान्ड्ससँग २–१ ले पराजित भएको छ । आइतबार आयरल्यान्डको घरेलु मैदान एविवा रंगशालामा भएको खेलमा घरेलु टिमले १–० को अग्रता जोगाउन नसक्दा समूह ‘बी’मा तीन अंक गुमाएको हो ।
खेलको चौथो मिनेटमा एडम इडाहले पेनाल्टीमार्फत गोल गर्दै आयरल्यान्डलाई अग्रतामा राखेका थिए । तर, घरेलु टिमको यो अग्रता लामो समयसम्म टिक्न सकेन । १९औँ मिनेटमा कोडी गक्पोले पेनाल्टी सदुपयोग गर्दै घरेलु टिमलाई खेलमा फर्काएपछि पहिलो हाफ १–१ को बराबरीमा सकिएको थियो । ५६औँ वाउट वेघहोस्र्टले गोल गर्दै नेदरल्यान्ड्सलाई २–१ को अग्रतामा राखेका थिए । वेघहोस्र्टको यही गोल निर्णायक बन्दा नेदरल्यान्ड्सले तीन अंक निश्चित गर्यो ।
जितसँगै चार खेलबाट नौ अंक जोडेको नेदरल्यान्ड्स समूह ‘बी’को दोस्रो स्थानमा उक्लिएको छ । त्यो एक खेल धेरै खेल्दै शीर्ष स्थानमा रहेको फ्रान्सको भन्दा ६ अंक कम हो । यस्तै, पाँच खेलबाट तीन अंक जोडेको आयरल्यान्ड तालिकाको चौथो स्थानमा छ ।
त्यस्तै गएराती नै सम्पन्न अन्य खेलमा अल्बानियाले पोल्याण्डलाई २-० ले, ग्रीसले गिब्रालटारलाई ५-० ले, सर्बियाले लिथुआनियालाई ३-१ ले, स्लोभेनियाले सान मारिनोलाई ४-० ले र मोल्ड़ोभाले फारोए आइल्याण्डलाई १-० गोल अन्तरले पराजित गरेका छन् ।



