काठमाडौं, बैशाख ९ गते । देशको विद्यमान अवस्थालाई बदल्न राजनीतिक ध्रुवीकरण जरुरी रहेको नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले बताएका छन् ।
महासचिव पोखरेलले देशको विद्यमान परिस्थितिको समाधान गर्न राजनीतिक ध्रुवीकरण जरुरी रहेको बताएका हुन् । उनले नेपाली जनमत विभाजित हुँदा बलियो राष्ट्रिय शक्ति निर्माण हुन नसकेको स्पष्ट पारे । उहाँले जति धेरै राजनीतिक दलहरू हुन्छन् उति नै नीतिगत सम्झौता, नीतिगत विचलन र सत्ताको सौदाबाजी हुने बताए । त्यस्तै वैदेशिक चलखेल र हस्तक्षेप पनि धेरै दलहरू हुँदा बढ्ने उनको भनाई छ ।
महासचिव पोखरेलले सत्ता केन्द्रित भएर अघि बढ्न खोज्दा जनमतलाई ध्रुवीकरण गर्न सम्भव नभएको स्पष्ट पारे । जनमत ध्रुवीकृत नभई बलियो राष्ट्रिय शक्तिहरूको निर्माण गर्न सम्भव नरहेको जिकिर गरे । संसद् हङ पार्लियामेन्टका रूपमा रहनु र प्रधानमन्त्री, मन्त्रीहरू फेरिइरहने कारण मुलुक बन्न नसकेको बताए । उनले देशलाई बनाउनका लागि नीतिका आधारमा वैचारिक ध्रुवीकरण र राजनीतिक ध्रुवीकरण जरुरी रहेको बताए ।

