काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटी र अमेरिकामा बसोबास गर्दै आएका युवक आशिष गेलालबीचको वैवाहिक सम्बन्ध कानुनी रुपमा टुंगिएको छ । अभिनेत्री वर्षा सिवाकोटीको वैवाहिक जीवन एक वर्ष नपुग्दै टुटेको छ ।
उनका श्रीमान् अमेरिका निवासी आशिष गेलालले अर्को विवाह गरेका छन् ।
गत वैशाख ९ गते काठमाडौंको एक रिसोर्टमा धुमधामले विवाह गरेका वर्षा र आशिषको सम्बन्ध नौ महिनामै टुंगिएको हो ।
विवाहलगत्तै वर्षा अमेरिका पुगेकी थिइन् । नेपाल फर्किएलगत्तै सामाजिक सञ्जालमा एकले अर्कोलाई अनफलो गरेपछि यी दुईबीचको सम्बन्धमा दरार आएको अनुमान गरिएको थियो ।
सामाजिक सञ्जाल मार्फत आशिषले अर्कै युवतीसँग विवाह भएको तस्बिर बाहिरिएको छ । आशिषले सोमबार झापाकी समीक्षा बिमलीसँग विवाह गरेका हुन् ।
छिटो विवाह गर्दा एकले अर्कोलाई बुझ्न नसकेको र असमझदारी भएको वर्षाले बताइन् । ‘परिवारको तर्फबाट मागेर छिटो विवाह गरियो । एकअर्कालाई बुझ्न सकिएन । असमझदारी भयो,’ उनले भनिन्, ‘दुई महिनाअघि हामी कानुनी रुपमा अलग भयौं ।’

