काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीभित्रका आन्तरिक विवाद अदालत लैजानुको सट्टा विधान र लोकतान्त्रिक प्रक्रियाबाटै समाधान गर्नुपर्नेमा जोड दिएका छन्।
पार्टीको नेतृत्व चयन महाधिवेशनमार्फत नै हुने स्पष्ट पार्दै उनले महाधिवेशन रोक्न अदालतमा निवेदन दिने वा मुद्दा-मामिलाको सहारा लिने प्रवृत्तिले कांग्रेसलाई बलियो नबनाउने बताएका हुन्।
चालिसेले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भनेका छन्, "कांग्रेसको नेता को हो भनेर अब अदालतले तोक्नुपर्ने? महाधिवेशन रोक्न निवेदन दिने जस्ता कार्यले हरेक कांग्रेस कार्यकर्ताको मन दुखाएको छ। दलको नेताको चयन विशेष वा नियमित अधिवेशनले नै गर्ने हो। पार्टीभित्र विश्वास गुमाएर अदालत धाउने शैलीले संगठनप्रति न्याय गर्दैन।"
कांग्रेसभित्र फरक विचार र असहमति हुनु स्वाभाविक भएको उल्लेख गर्दै प्रवक्ता चालिसेले क्रियाशील सदस्यता, निर्वाचन प्रक्रिया र निष्पक्षताबारे उठेका प्रश्न समाधानका लागि सबै पक्षको विश्वास जित्न सक्ने समिति र पारदर्शी प्रक्रिया अपनाउनुपर्ने सुझाव दिएका छन्।
विधान समयअनुकूल नभए संशोधन गर्न सकिने भए पनि सहमति वा भेलाका नाममा विद्यमान विधान उल्लंघन गर्न नहुने उनको भनाइ छ। विवाद समाधानका नाममा बसालिने गलत अभ्यासले भविष्यमा थप जटिलता ल्याउनेतर्फ उनले सचेत गराएका छन्। महाधिवेशन रोक्नु समस्याको निकास नभएकाले फरक विचार वा नेतृत्वप्रति असहमति भए महाधिवेशनमै बहस गरी कार्यकर्ताको जनादेश स्वीकार गर्न उनले आग्रह गरेका छन्।
विधानले तोकेको समयसीमा आगामी मंसिरमा समाप्त हुँदै जाने र अदालतमा विचाराधीन मुद्दाको टुंगो कहिले लाग्छ भन्ने निश्चित नभएकाले निर्णय पर्खेर पार्टीको लोकतान्त्रिक प्रक्रिया अनिश्चित बनाउन नहुने चालिसेको तर्क छ। नेताहरूको सम्मान आवश्यक भए पनि त्यो विधान र लोकतान्त्रिक पद्धतिभन्दा माथि हुन नसक्ने उल्लेख गर्दै उनले कांग्रेसलाई अदालतको चक्करमा नभई कार्यकर्ताको विश्वासमा उभ्याउनुपर्ने बताए।



