काठमाडौं । नेपालमा पहिलोपटक हुन लागेको पुरुष भलिबल फ्रेन्चाइज लिग "नेपाल भलिबल लिग" (एनभीएल) को मुख्य प्रयोजकमा एक्सट्रिम इनर्जी ड्रिंक रहने भएको छ ।
नेपाल भलिबल संघको सहयोगमा केडिया ग्रुपले आयोजना गर्न लागेको एनभीएललाई एक्सट्रिम इनर्जी ड्रिंकले तीन बर्षका लागि मुख्य प्रयोजन गर्ने सम्झौता भएको छ । नेपाल भलिबल लिगका प्रबन्ध निर्देशक अश्विन केडिया र एग्रो थाई फुड्सका प्रा.लिका बिजनेस हेड सोनिया रानाले मुख्य प्रयोजन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौतासंगै एनभीएलको नयाँ नाम "एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल" लिग रहनेछ । एनभीएलको पहिलो संस्करणमा सहभागी हुने ६ फ्रेन्चाइज टोलीले आफ्नो तयारीलाई तीब्र गतिमा अगाडि बढाइरहेका छन् ।
नेपाली भलिबलको इतिहासमै पहिलोपटक हुन लागेको ऐतिहासिक खेलाडी ‘अक्सन’ सम्पन्न भइसकेको नेपाल भलिबल लिगका प्रमुख कार्यकारी अधिकृत सन्तोष उपाध्यायले जानकारी दिए । अक्सनबाट हरेक टिमले 'ए' क्याटेगोरीमा समान चार चार तथा 'बी' क्याटेगोरीमा समान तीन तीन खेलाडी चयन गरिसकेका छन् ।
"उचाईको नयाँ उडान" नाराका साथ हुन लागेको (एनभीएल) लिग आउँदो भदौ १९ देखि २७ गतेसम्म हुने भएको छ । खेल काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा हुनेछ ।



