काठमाडौँ । निर्देशक सौरभ चौधरीको महत्त्वाकांक्षी नयाँ चलचित्र ‘द राइज अफ साम्राज्य’मा अभिनेता नाजिर हुसेन अनुबन्धित भएका छन् । यसअघि नै चर्चित अभिनेताद्वय सौगात मल्ल र दयाहाङ राई मुख्य भूमिकामा पक्का भइसकेको यो चलचित्रमा नाजिरको प्रवेशसँगै कलाकारको लाइनअप थप बलियो बनेको छ। निर्देशक चौधरी र नाजिरको यो दोस्रो सहकार्य हो, जसअघि उनीहरूले चलचित्र ‘अगस्त्य’मा एकसाथ काम गरिसकेका छन्।
डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा चर्चित उपन्यासकार बुद्धिसागरको कथा तथा पटकथा रहनेछ । निर्देशक चौधरीका अनुसार यो नेपाली सिनेमाकै अहिलेसम्मकै ठूलो क्यानभासमा बन्न लागेको ‘एपिक एक्सन ड्रामा’ हुनेछ। सिनेमामा अझै केही अब्बल कलाकारहरू थपिने क्रम जारी रहने निर्माण पक्षले जनाएको छ।
विशाल क्यानभासमा तयार पार्न लागिएको यस चलचित्रको छायांकन आगामी भदौ पहिलो साताबाट सुरु हुनेछ। निर्माण टिमले तय गरेको ७० दिनको छायांकन तालिका अनुसार फिल्मको अधिकांश हिस्सा पूर्वी नेपालका विभिन्न रमणीय स्थानहरूमा खिचिनेछ।
प्रवेश चौधरी र निला देवको निर्माणमा बन्ने यस चलचित्रको कार्यकारी निर्मातामा शंकर पाण्डे र सह-निर्मातामा विश्वास बस्नेत 'बेन' रहेका छन्। मानकृष्ण महर्जनको छायांकन र श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहने यस चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल, पब्लिसिटी पार्टनर टौवा स्टुडियो र वितरक डिसीएन रहेका छन्।



