२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

इन्डोनेसियामा यात्रुवाहक पानीजहाजमा आगलागी


सञ्चार डबली
  • बुधबार, साउन २७ २०८३
  • 13.7K
    SHARES

  • images
    इन्डोनेसियामा यात्रुवाहक पानीजहाजमा आगलागी

    काठमाडौँ । इन्डोनेसियाको पर्यटकीय टापु बाली नजिकै बुधबार यात्रुवाहक पानीजहाजमा आगलागी भएपछि उद्धारकर्मीहरूले उद्धार कार्य तीव्र बनाएका छन् ।

    खराब मौसम र समुद्रमा ठूलो छालका बीच उद्धारकर्मी तथा आसपासबाट गुज्रिरहेका अन्य पानीजहाजले १०६ जनालाई सुरक्षित निकालिसकेका छन् । पानीजहाजमा अझै २५ जना रहेको र उनीहरूको उद्धारका लागि प्रयास भइरहेको अधिकारीहरूले बताएका छन् ।

    समुद्रमा करिब ४ मिटर अग्ला छाल उठिरहेकाले उद्धार कार्य निकै कठिन बनेको छ । खोज तथा उद्धार कार्यालयका अनुसार बालीको पादाङ बाई बन्दरगाहबाट पश्चिम नुसा तेङ्गारा प्रान्तअन्तर्गत छिमेकी लोम्बोक टापुको लेम्बर बन्दरगाहतर्फ गइरहेको ‘पुत्री यास्मिन’ नामक पानीजहाजमा आगलागी भएको थियो ।

    आगलागी भएको करिब आधा घण्टापछि आपत्कालीन सूचना प्राप्त भएपछि उद्धार कार्यालयले तत्काल उद्धारकर्मी तथा उद्धार पानीजहाज परिचालन गरेको थियो । उद्धार कार्यमा इन्डोनेसियाली नौसेनाका पानीजहाज, गस्ती नौका तथा उद्धार पानीजहाज परिचालन गरिएको छ। घटनास्थलको हवाई निरीक्षणका लागि हेलिकप्टरसमेत प्रयोग गरिएको अधिकारीहरूले बताएका छन्।

    पादाङ बाई बन्दरगाह प्राधिकरणले उपलब्ध गराएको यात्रु विवरण उद्धृत गर्दै हरियादीले पानीजहाजमा ११४ यात्रु र १७ जना चालक दलका सदस्य रहेको बताएका छन्। पानीजहाजमा ४४ वटा सवारीसाधन र ५३ वटा मोटरसाइकलसमेत रहेका थिए ।

    इन्डोनेसिया १७ हजारभन्दा बढी टापु रहेको मुलुक हो । यहाँ एक टापुबाट अर्को टापुमा आवतजावत गर्न पानीजहाज र नौका व्यापक रूपमा प्रयोग हुन्छन् । तर कमजोर सुरक्षा व्यवस्थाका कारण यहाँ पानीजहाज दुर्घटना र अन्य विपद्का घटना बारम्बार हुने गरेका छन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend