काठमाडौँ / ग्लोबल आइएमई बैंकले युवा पुस्तालाई लक्षित गर्दै डिजिटल माध्यमबाट सहज रूपमा खाता खोल्न सकिने ‘ग्लोबल नेक्स्ट जेन अकाउन्ट’ सञ्चालनमा ल्याएको छ।
बैंकिङ सेवालाई थप प्रविधिमैत्री, सरल र पहुँचयोग्य बनाउने उद्देश्यले ल्याइएको उक्त खातामार्फत ग्राहकले बैंकको शाखामा भौतिक रूपमा उपस्थित नभई खाता खोल्न सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ।
पछिल्लो समय डिजिटल बैंकिङको प्रयोग बढ्दै गएसँगै ग्राहकलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले बैंकले अनलाइन खाता खोल्ने सुविधा विस्तार गरेको हो। ‘ग्लोबल नेक्स्ट जेन अकाउन्ट’ विशेषगरी प्रविधिमा रुचि राख्ने युवा तथा नयाँ पुस्तालाई लक्षित गरिएको बैंकको भनाइ छ।
यस खाताको मुख्य विशेषता ग्राहकले घर, कार्यस्थल वा आफू रहेको जुनसुकै स्थानबाट अनलाइनमार्फत खाता खोल्न सक्नु हो। राष्ट्रिय परिचयपत्र वा राहदानी भएका नेपाली नागरिकले विदेश वा स्वदेशमा रहेर पनि डिजिटल माध्यमबाट बैंक खाता खोल्न सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ।
अनलाइनमार्फत आवेदन दिएपछि आवश्यक प्रक्रिया पूरा गरी खाता सञ्चालनमा ल्याउन सकिनेछ। खाता खुलेपछि ग्राहकले मोबाइल बैंकिङ सेवासमेत सञ्चालन गर्न सक्नेछन्। युवालाई डिजिटल बैंकिङ सेवातर्फ आकर्षित गर्ने उद्देश्यले बैंकले उक्त खातामा पहिलो वर्ष मोबाइल बैंकिङ सेवा निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेको छ।
त्यस्तै, ‘ग्लोबल नेक्स्ट जेन अकाउन्ट’ सञ्चालनका लागि न्यूनतम मौज्दात राख्नुपर्ने बाध्यता नरहेको बैंकले जनाएको छ। ग्राहकले शून्य मौज्दातमै खाता सञ्चालन गर्न सक्ने भएकाले विशेषगरी विद्यार्थी तथा सुरुआती चरणका युवा ग्राहकका लागि यो सुविधा उपयोगी हुने बैंकको अपेक्षा छ।
बैंकका अनुसार खातामा बचत रकममा आकर्षक ब्याजदरसमेत उपलब्ध गराइएको छ। डिजिटल माध्यमबाट खाता खोल्न सकिने, न्यूनतम मौज्दातको बाध्यता नहुने तथा मोबाइल बैंकिङ सेवा उपलब्ध हुने भएकाले नयाँ पुस्तालाई बैंकिङ सेवामा जोड्न यसले सहयोग पुग्ने बैंकको विश्वास छ।
डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै बैंक तथा वित्तीय संस्थाले शाखामा निर्भरता घटाउँदै अनलाइनमार्फत बैंकिङ सेवा विस्तार गरिरहेका छन्। सोही क्रममा ग्लोबल आइएमई बैंकले पनि युवा पुस्ताको आवश्यकता र डिजिटल बैंकिङप्रतिको बढ्दो आकर्षणलाई ध्यानमा राख्दै ‘नेक्स्ट जेन अकाउन्ट’ ल्याएको हो।
बैंकले ग्राहकलाई आफ्नो मोबाइलबाटै खाता खोली डिजिटल बैंकिङको सुविधा उपयोग गर्न आग्रह गरेको छ। यससँगै खाता खोल्नका लागि बैंकको शाखामा पुग्नुपर्ने समय र कागजी प्रक्रियामा हुने झन्झट कम हुने बैंकको दाबी छ।



