काठमाडौँ। बजारमा खाना पकाउने एलपीजी ग्यासको अभाव र वितरणमा अव्यवस्था बढेपछि काठमाडौं महानगरपालिकाले आपूर्ति सहज बनाउन स्थलगत अनुगमन तथा सहजीकरण थालेको छ। लामो समय लाइनमा बस्दा पनि ग्यास नपाएको, पहुँचका आधारमा वितरण भएको र विद्यार्थी एवम् सर्वसाधारण मारमा परेको गुनासो आएपछि महानगर प्रहरी बलले ग्यास डिपोहरूको अनुगमन सुरु गरेको हो।
महानगर प्रहरी बलका प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीका अनुसार उपलब्ध ग्यास सबै उपभोक्तासम्म न्यायोचित रूपमा पुर्याउन महानगरले वितरण प्रक्रियामा प्रत्यक्ष सहयोग गर्नेछ। अनुगमनका क्रममा ग्यासको तौल, सिलिन्डरको म्याद, भण्डारण सुरक्षा र डिपोहरूमा अग्नि नियन्त्रण उपकरणको उपलब्धता समेत नियमित रूपमा जाँच गरिनेछ।
सोमबार अनामनगर क्षेत्रबाट सुरु गरिएको अनुगमनका क्रममा साना डिपोमा ग्यास मौज्दात रहे पनि ठूला डिपोहरूमा भने उपभोक्ताको अत्यधिक भीड देखिएको छ। साना डिपोमा ग्यास पाइँदैन भन्ने भ्रमका कारण ठूला डिपोमा चाप बढेको व्यवसायीहरूको भनाइ छ भने उपभोक्ताहरूले बिहानैदेखि लाइन बस्नुपरेको र पहुँचवालाले धेरै सिलिन्डर लग्ने गरेको गुनासो गरेका छन्।
यसैबीच, नेपाल आयल निगमले भने ग्यास आपूर्ति घटेकै कारण समस्या नआएको स्पष्ट पारेको छ। बजारमा साविककै परिमाणमा ग्यास भित्रिरहेको र एक्कासि माग बढेका कारण वितरणमा अस्थायी असन्तुलन देखिएको निगमको भनाइ छ।


