काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनसरीमा विकसित पछिल्लो तनावपूर्ण परिस्थितिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र आपसी विश्वास जोगाउन सबै पक्षलाई संयमता अपनाउन अपील गरेका छन्। बुधबार सिंहदरबारमा आयोजित सर्वदलीय बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री दाहालले विगतमा भूकम्प, बाढी-पहिरो र संविधान निर्माण जस्ता कठिन समयमा राजनीतिक दलहरूले देखाएको राष्ट्रिय एकता स्मरण गराउँदै अहिलेको संवेदनशील परिस्थितिमा पनि त्यस्तै परिपक्वता र जिम्मेवारी आवश्यक रहेको बताए।
बैठकमा उनले राष्ट्रिय महत्वका मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले अपेक्षाअनुसार साझा समाधान पहिल्याउन नसकेको भन्दै प्रश्न उठाए। तर, वर्तमान अवस्थामा छलफलका लागि सर्वदलीय बैठक बोलाएकोमा रास्वपा सभापति रवि लामिछानेलाई धन्यवाद दिए। प्रचण्डले कुनै पनि समस्याको दीर्घकालीन समाधान बल प्रयोगबाट सम्भव नहुने स्पष्ट पार्दै संवाद, सहकार्य र राजनीतिक समझदारीबाटै निष्कर्षमा पुग्नुपर्नेमा जोड दिए। परिस्थिति थप बिग्रन नदिन सरकार अझ बढी जिम्मेवार, सक्रिय र संवेदनशील बन्नुपर्ने उनको भनाइ थियो।
उनले प्रधानमन्त्रीले तत्काल सबै राजनीतिक दलहरूसँग संवाद गरी विश्वासको वातावरण बनाउनुपर्ने र सुनसरी घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही हुनुपर्ने माग राखे। यसै क्रममा बाह्य वा घुसपैठिया तत्वहरूले परिस्थितिको फाइदा उठाएर वातावरण भड्काउन सक्ने जोखिमप्रति सचेत गराउँदै उनले सबै पक्षलाई उच्च सतर्कता अपनाउन आग्रह गरे। अहिलेको घडी राजनीतिक तिक्तता बढाउने नभई राष्ट्रिय दायित्व पूरा गर्ने समय भएकाले शान्ति र सामाजिक सद्भावका लागि सरकार, दलहरू र सबै सरोकारवाला एकजुट भएर अघि बढ्नुपर्नेमा उनले विशेष जोड दिए।



