काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा तुलसीको मठमा बिरुवा रोपी चार महिनासम्म गरिने विशेष पूजा–आराधना (चातुर्मास व्रत) सुरु गर्दैछन् । प्रत्येक वर्षको आषाढ शुक्ल एकादशीका दिन मनाइने हरिशयनी एकादशीका अवसरमा आज भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको बिरुवा रोप्ने धार्मिक र सांस्कृतिक परम्परा रहेको छ ।
हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीसम्मको चार महिनाको अवधिलाई चातुर्मास भनिन्छ । शास्त्रीय मान्यताअनुसार आजकै दिनदेखि भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने भएकाले यसलाई हरिशयनी एकादशी भनिएको हो । भगवान् विष्णु शयन गर्ने भएकाले यो अवधिमा विशेष विवाह, व्रतबन्ध र गृहप्रवेशजस्ता मांगलिक कार्यहरू नगरिने धार्मिक विश्वास छ ।
तुलसीलाई आयुर्वेदमा एक महत्त्वपूर्ण ओषधीय वनस्पतिका रूपमा लिइन्छ भने सनातन संस्कृतिमा विष्णुप्रियाका रूपमा पूजनीय मानिन्छ । आजका दिन श्रद्धालुहरूले विशेष व्रत बस्ने र नारायणको पूजा गर्ने गर्दछन् । काठमाडौँको बूढानीलकण्ठ, उपत्यकाका चार नारायण (चाँगु, विशङ्खु, इचङ्गु र शेषनारायण) लगायत देशभरका विष्णु मन्दिरहरूमा आज बिहानैदेखि भक्तजनको ठूलो घुइँचो लागेको छ ।


