काठमाडौँ / फोटोनले नेपालमा आफ्नो बिक्रीपछिको सेवा (After-sales Service) विस्तार गर्दै भालुवाङ, बागलुङ, लालबन्दी, चपुर र लहानमा पाँच नयाँ ‘FOTON Total Care Shield Service Point’ सञ्चालनमा ल्याएको छ।
कम्पनीका अनुसार नयाँ सेवा केन्द्र सञ्चालनसँगै फोटोनको देशव्यापी बिक्रीपछिको सेवा नेटवर्क २१ भन्दा बढी स्थानमा पुगेको छ। यसबाट देशभरका विद्युतीय (EV) सवारीसाधन प्रयोगकर्ताले स्थानीयस्तरमै मर्मतसम्भार, प्राविधिक परीक्षण तथा आवश्यक प्राविधिक सहायता सहज रूपमा प्राप्त गर्न सक्नेछन्।
नयाँ ‘शिल्ड सर्भिस पोइन्ट’हरूले सम्बन्धित क्षेत्र तथा आसपासका ग्राहकलाई छिटो र भरपर्दो सेवा उपलब्ध गराउने कम्पनीले जनाएको छ। विशेषगरी शैक्षिक संस्था, लजिस्टिक्स व्यवसाय तथा व्यावसायिक सवारीसाधन सञ्चालकलाई यस विस्तारबाट लाभ पुग्ने अपेक्षा गरिएको छ।
कम्पनीका अनुसार ‘FOTON Total Care Network’ अन्तर्गत नियमित मर्मतसम्भार, सवारीसाधनको प्राविधिक परीक्षण, मर्मत सेवा तथा वारेन्टीसम्बन्धी सहयोग उपलब्ध हुनेछ। नयाँ सेवा केन्द्रमा विद्युतीय सवारीसाधनका लागि आवश्यक डायग्नोस्टिक उपकरण, तालिमप्राप्त ईभी प्राविधिक तथा जेन्युइन स्पेयर पार्ट्सको व्यवस्था गरिएको छ।
नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै गएको अवस्थामा प्रमुख सहरी क्षेत्रबाहिर पनि दक्ष सेवा विस्तार गरी ग्राहकले बिक्रीपछिको सेवा लिन लामो दूरी यात्रा गर्नुपर्ने अवस्था अन्त्य गर्ने लक्ष्य कम्पनीले राखेको जनाएको छ।
फोटोनका अनुसार ‘FOTON Total Care’ कार्यक्रमले नियमित तथा रोकथाममूलक मर्मतसम्भार, छिटो सेवा, पारदर्शी प्रक्रिया र नेपालको भौगोलिक अवस्थाअनुकूल सेवा प्रदान गर्दै व्यावसायिक सवारीसाधनको सञ्चालन समय र लागत दुवै घटाउने उद्देश्य राखेको छ।
कम्पनीले नयाँ सेवा केन्द्र विस्तारसँगै नेपालमा विद्युतीय व्यावसायिक सवारीसाधनको प्रयोग प्रवर्द्धन गर्दै ग्राहकको दीर्घकालीन विश्वास अझ सुदृढ बनाउने प्रतिबद्धता जनाएकाे छ।

