२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

२३औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते, मुख्य प्रायोजकमा गोल्छा ग्रुप


सञ्चार डबली
  • बिहीबार , साउन ७ २०८३
  • 1.9K
    SHARES

  • २३औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते, मुख्य प्रायोजकमा गोल्छा ग्रुप

    काठमाडौँ / नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८३’ को २३औँ संस्करण आगामी भदौ १८ गते काठमाडौँस्थित नेपाल पुलिस क्लबको ‘द ब्लु पवेलियन’मा आयोजना गर्ने भएको छ।

    बुधबार आयोजित पत्रकार सम्मेलनमा मञ्चले अवार्डको मिति घोषणा गर्दै यस वर्ष पनि गोल्छा ग्रुप मुख्य प्रायोजक रहने जनाएको छ। यस अवसरमा मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाबीच प्रायोजन सम्झौतापत्रमा हस्ताक्षर भएको छ। 

    दुवै पक्षबीच अघिल्लो वर्ष पाँच वर्षका लागि भएको सम्झौताअनुसार यो सहकार्यको दोस्रो वर्ष हो। गोल्छा ग्रुप लगातार १९औँ पटक यस अवार्डसँग जोडिएको छ।

    सम्झौतापछि बोल्दै निर्देशक अभिमन्यु गोल्छाले नेपाली खेलकुदको विकास र खेलाडीको हौसला अभिवृद्धिमा गोल्छा ग्रुप निरन्तर प्रतिबद्ध रहेको बताए। उनले खेलाडी, प्रशिक्षक तथा खेल क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान गर्ने यस अवार्डले नेपाली खेलकुदको स्तर उकास्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

    मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले नेपालको औद्योगिक तथा आर्थिक क्षेत्रमा योगदान पुर्‍याउँदै आएको प्रतिष्ठित व्यावसायिक घराना गोल्छा ग्रुपसँगको सहकार्यले अवार्डलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुगेको भन्दै आभार व्यक्त गरे।

    मञ्चका महासचिव अञ्जन खड्काका अनुसार यस वर्ष अवार्ड ९ विधामा प्रदान गरिनेछ। 

    तीमध्ये वर्षका उत्कृष्ट पुरुष खेलाडी, उत्कृष्ट महिला खेलाडी, युवा खेलाडी, प्रशिक्षक, पिपल्स च्वाइस, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड तथा एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड रहेका छन्।

    उत्कृष्ट पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस विधाका मनोनयन केही दिनभित्र सार्वजनिक गरिने जनाइएको छ। प्रत्येक विधामा पाँच–पाँच जना मनोनयनमा पर्नेछन्। 

    लाइफटाइम एचिभमेन्ट, स्पेसल, पारा एथलिट सम्मान तथा एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डका विजेताको घोषणा भने अवार्डकै दिन हुनेछ।

    वर्षका उत्कृष्ट पुरुष, महिला, युवा, प्रशिक्षक तथा पिपल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल प्राप्त गर्नेछन्। अन्य चार विधाका विजेता तथा सम्मानित व्यक्तिलाई जनही १ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ।

    यसैबीच, अवार्ड कार्यक्रम सफल बनाउन मञ्चका अध्यक्ष निरञ्जन अधिकारीको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ भने कार्यक्रम व्यवस्थापनका लागि विभिन्न उपसमितिसमेत गठन गरिएको मञ्चले जनाएको छ।

    गत वर्षको अवार्डमा पुरुषतर्फ क्रिकेटर दीपेन्द्र सिंह ऐरी, महिलातर्फ करातेकी एरिका गुरुङ, युवातर्फ क्रिकेटर पूजा महतो र प्रशिक्षकतर्फ पारा तेक्वान्दोका कविराज नेगी लामा सम्मानित भएका थिए। पिपल्स च्वाइस अवार्ड भलिबल खेलाडी हिमाल सुनारी ले जितेका थिए।

    त्यस्तै, स्पेसल अवार्डबाट तुलसी कुमार गुरुङ, पारा एथलिट सम्मानबाट प्रभा आङदेम्बे, एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डबाट बंगलादेशका पत्रकार राना हसन तथा लाइफटाइम एचिभमेन्ट अवार्डबाट खड्ग रानाभाट सम्मानित भएका थिए।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend