२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

वाइवाइलाई पिरो चाउचाउको पिरः उपभोक्ताको बदलिँदो रोजाइले सीजी फुड्सको आम्दानीमा धक्का


सञ्चार डबली
  • आइतबार, असार २८ २०८३
  • 1.5K
    SHARES

  • वाइवाइलाई पिरो चाउचाउको पिरः उपभोक्ताको बदलिँदो रोजाइले सीजी फुड्सको आम्दानीमा धक्का

    काठमाडौँ / दशकौँदेखि नेपाली चाउचाउ बजारमा एकछत्र राज गर्दै आएको ‘वाइवाइ’लाई पछिल्लो समय बजारमा भित्रिएका पिरो स्वादका चाउचाउले कडा टक्कर दिन थालेका छन् ।

    उपभोक्ताहरुको रुचि विशेषगरी पिरो र नयाँ स्वादतर्फ मोडिएसँगै चौधरी समूहअन्तर्गतको सीजी फुड्स नेपाल लिमिटेडको सञ्चालन आम्दानीमा संकुचन देखिएको हो । 

    रेटिङ एजेन्सी इक्रा नेपालको हालैको रेटिङ प्रतिवेदनअनुसार, नयाँ स्वदेशी तथा विदेशी ब्रान्डहरूले पिरो स्वादका चाउचाउमार्फत आक्रामक बजार विस्तार गर्दा त्यसको प्रत्यक्ष असर सीजी फुड्सको व्यापारमा परेको हो ।

    तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/८१ मा ११ अर्ब ६७ करोड ३० लाख रुपैयाँ रहेको कम्पनीको समेकित सञ्चालन आम्दानी गत आर्थिक वर्ष २०८१/८२ मा २.७२ प्रतिशतले घटेर ११ अर्ब ३५ करोड ५० लाख रुपैयाँमा झरेको छ । 

    इक्रा नेपालले उपभोक्ताको प्राथमिकतामा आएको परिवर्तन र विशेषगरी पिरो चाउचाउको बढ्दो क्रेजले नयाँ प्रतिस्पर्धीहरूलाई बजारमा चाँडो स्थापित हुन सहयोग पु¥याएको उल्लेख गरेको छ ।

    यसले गर्दा लामो समयदेखि बजारको नेतृत्व गरिरहेको वाइवाइको बजार हिस्सा र नाफा कमाउने क्षमतामा दबाब सिर्जना भएको छ । पिरो चाउचाउको बढ्दो प्रतिस्पर्धा र कच्चा पदार्थको मूल्यमा भएको उतारचढावका कारण कम्पनीको सञ्चालन नाफा मार्जिनमा समेत भारी गिरावट देखिएको छ । 

    आर्थिक वर्ष २०८०/८१ मा १२.१ प्रतिशत रहेको समेकित सञ्चालन नाफा मार्जिन गत आर्थिक वर्षमा घटेर ६.६ प्रतिशतमा सीमित भएको छ। 

    यद्यपि, कम्पनीको कुल आम्दानीमा अझै पनि चाउचाउकै हिस्सा ७४ प्रतिशतभन्दा बढी रहेकाले बदलिँदो बजार मागअनुसार प्रतिस्पर्धा गर्नु कम्पनीका लागि मुख्य चुनौती बनेको छ । 

    कम्पनीले हालैका दिनमा आफ्ना उत्पादनमा विविधीकरण गर्ने र नयाँ स्वादहरू भित्र्याउने प्रयास गरे पनि नयाँ ब्रान्डहरूको तीव्र विस्तारले बजारमा ’प्राइस वार’ र ’ब्रान्ड वार’ दुवै बढाएको छ।

    कम्पनीले चुनौतीलाई चिर्नका लागि निर्यात बिक्री बढाउने र स्न्याक्स तथा पेय पदार्थ जस्ता अन्य क्षेत्रमा लगानी विस्तार गर्ने रणनीति लिएको छ । 

    चालु आर्थिक वर्षको पहिलो नौ महिनामा कम्पनीको नाफा मार्जिनमा केही सुधार देखिए पनि इक्रा नेपालले पिरो चाउचाउका कारण उत्पन्न प्रतिस्पर्धालाई दीर्घकालीन रूपमा निगरानी गर्नुपर्ने जोखिमका रूपमा औँल्याएको छ। 

    बजारमा उपभोक्ताको स्वाद फेरिएसँगै वाइवाइले आफ्नो विरासत जोगाउन अब नयाँ प्रतिस्पर्धी ब्रान्डहरूसँग कडा संघर्ष गर्नुपर्ने देखिएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend