काठमाडौँ / ग्लोबल आइएमई बैंक लिमिटेडले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) क्षेत्रमा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘ग्लोबल आइएमई एआई/एमएल ह्याकाथन २०२६’ सुरु गरेको छ।
शुक्रबार आयोजित विशेष समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मीले प्रतियोगिताको औपचारिक उद्घाटन गरेका हुन्।
बैंकले नेपालको बैंकिङ क्षेत्रमा अत्याधुनिक प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले गत वर्ष पहिलोपटक ह्याकाथन आयोजना गरेको थियो। यस वर्ष सो कार्यक्रमको दोस्रो संस्करण सञ्चालन गरिएको बैंकले जनाएको छ।
प्रविधिमा रुचि भएका विद्यार्थी, स्टार्टअप, डेभलपर, इन्जिनियर, डेटा वैज्ञानिक तथा अनुसन्धानकर्तालाई लक्षित गरी आयोजना गरिएको प्रतियोगितामा खुला आवेदनमार्फत उत्कृष्ट १४ टोली छनोट भएका छन्।
दुई चरणमा सञ्चालन हुने आवासीय प्रतियोगिताअन्तर्गत पहिलो चरणमा सहभागी टोलीहरूले ३६ घण्टासम्म निरन्तर कोडिङ गर्नेछन् भने दोस्रो चरणमा अनसाइट ह्याकाथन सञ्चालन हुनेछ। प्रतियोगिताका सहभागीका लागि आवासीय व्यवस्थासमेत गरिएको बैंकले जनाएको छ।
प्रतियोगितामा सहभागी टोलीहरूले बैंकले निर्धारण गरेका विभिन्न विषयमा आधारित नवप्रवर्तनात्मक समाधान प्रस्तुत गर्दै बैंकिङ सेवालाई थप सुरक्षित, सरल, प्रभावकारी र प्रविधिमैत्री बनाउने अवधारणा विकास गर्नेछन्।
उद्घाटन कार्यक्रममा सीईओ रेग्मीले ह्याकाथनले डिजिटल बैंकिङका भविष्यका सम्भावित सेवाको विकास तथा बैंकिङ क्षेत्रमा देखिएका चुनौतीहरूको समाधान खोज्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनले उत्कृष्ट टोलीलाई नगद पुरस्कार प्रदान गरिनुका साथै बैंकसँग व्यावसायिक सहकार्यको अवसरसमेत उपलब्ध गराइने जानकारी दिए।
ग्लोबल आइएमई बैंकले आधुनिक प्रविधि र ग्राहक सेवाका आधारमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न सम्मान प्राप्त गर्दै आएको छ। बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’ तथा २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’ को उपाधि प्राप्त गरिसकेको छ। साथै युरोमनी अवार्ड फर एक्सलेन्स (२०२२, २०२४ र २०२५), बेस्ट बैंक ईएसजी नेपाल २०२४ तथा बेस्ट इम्प्लोयर लगायतका प्रतिष्ठित पुरस्कार पनि हात पारेको छ।
हाल ग्लोबल आइएमई बैंक ७७ वटै जिल्लामा सेवा विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंकका रूपमा ३४४ शाखा, ३६८ एटीएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय सहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ। साथै अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई र भारतलगायतका मुलुकबाट औपचारिक माध्यममार्फत रेमिट्यान्स भित्र्याउँदै आएको बैंकले जनाएको छ।

