भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया सुरु भएको छ। चितवनमा जारी पार्टीको ऐतिहासिक प्रथम महाधिवेशन अन्तर्गत दोस्रो चरणको यो निर्वाचनले नयाँ पदाधिकारीहरूको टुंगो लगाउनेछ। यसअघि नै पार्टीको केन्द्रीय सभापति पदमा रवि लामिछाने र खुला उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भइसकेका छन्।
अहिले महाधिवेशन स्थलमा महिला उपसभापति, महामन्त्री, दुई जना खुला सहमहामन्त्री र एक जना महिला सहमहामन्त्री पदका लागि तीव्र प्रतिस्पर्धासहित मतदान भइरहेको छ। जसअन्तर्गत महिला उपसभापति पदका लागि सोबिता गौतम र डा. तोसिमा कार्की चुनावी मैदानमा छन्।
त्यस्तै, सर्वाधिक चासोको रूपमा हेरिएको महामन्त्री पदमा मनिष झा, विपिन आचार्य, सागर ढकाल र गणेश कार्की उम्मेदवार रहेका छन्। यसअघि महामन्त्रीका आकांक्षी रहेका कविन्द्र बुर्लाकोटी, रन्जु दर्शना, प्रमोद न्यौपाने, गणेश पराजुली, जगदीश खरेल, शिशिर खनाल र राजुनाथ पाण्डेले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि प्रतिस्पर्धा केही खुम्चिएको हो।
पदाधिकारी चयनका लागि शीर्ष तहमा सहमतिको अधिकतम प्रयास गरिए पनि सहमति हुन नसकेपछि पूर्वनिर्धारित समयभन्दा केही ढिलो गरी मतदान सुरु भएको निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिएका छन्।
दुई पद रहेको खुला (पुरुष) सहमहामन्त्रीका लागि असिम शाह, रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, अशोककुमार चौधरी, मिलन लिम्बु, राजीव खत्री, विजय जैरु, हरि ढकाल र हिमेष पन्त चुनावी प्रतिस्पर्धामा छन्। त्यस्तै, एक पद रहेको महिला सहमहामन्त्रीतर्फ जुली यादव, विदुषी शर्मा, कामिनी कुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्माले उम्मेदवारी दिएका छन्।



