काठमाडौं । निर्देशक जीवन सिंहको लेखन तथा निर्देशनमा बनेको बहुप्रतीक्षित चलचित्र ‘हन्टर’ आगामी असोज ९ गते (सेप्टेम्बर २५) देखि देशभरका सिनेमाघरमा प्रदर्शन हुने भएको छ। निर्माण टिमले चलचित्रको प्रदर्शन मिति घोषणा गर्दै सार्वजनिक गरेको नयाँ ‘फेस-अफ’ पोस्टरले दर्शकमाझ उत्सुकता थपेको छ।
‘हन्टर’ मार्फत जीवन सिंहले निर्देशकका रूपमा पहिलो पटक डेब्यु गरेका हुन्। सार्वजनिक पोस्टरले चलचित्रको कथा, पात्रहरूको द्वन्द्व र भावनात्मक पक्षलाई प्रभावकारी रूपमा प्रस्तुत गरेको छ। ट्राइडेन्ट कन्सेप्टले डिजाइन गरेको पोस्टरमा मुख्य कलाकार अरुण क्षेत्री र प्रकाश शाह आमनेसामने उभिएका छन्, जसले उनीहरूबीचको तीव्र संघर्षलाई संकेत गर्छ।
प्रकाश शाहको अनुहारमा झल्किएको आक्रोश र अरुण क्षेत्रीको आँखामा देखिएको प्रतिशोधले चलचित्रमा दुई शक्तिशाली पात्रबीचको घम्साघम्सीलाई झल्काउँछ। पोस्टरले सामान्य भिडन्तभन्दा पर, ‘हन्टर’ र ‘सिकार’ बीचको जीवन–मरणको खेल प्रस्तुत हुने स्पष्ट संकेत दिएको छ।
पोस्टरको अर्को पाटो भने पूर्णतः फरक देखिन्छ। त्यहाँ अरुण क्षेत्री र अभिनेत्री सुप्रज्ञा शर्मा शान्त तथा रोमान्टिक मुद्रामा देखिएका छन्। यसले चलचित्र केवल एक्सनमा सीमित नरही गहिरो प्रेमकथाले पनि भरिएको संकेत गर्छ। सम्भवतः यही प्रेमकथा नै कथाको मुख्य द्वन्द्वको आधार बन्ने अनुमान गर्न सकिन्छ।
निर्देशक जीवन सिंहका अनुसार ‘हन्टर’ कुनै काल्पनिक कथामा आधारित चलचित्र होइन। यसको कथा समाजमा देखिएका वास्तविक पात्र र घटनाबाट प्रेरित भएर तयार गरिएको हो।
ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा निर्माण भएको चलचित्रका निर्माता ममता सिंह, गोविन्द राज र राज ए. भट्ट हुन्। मनिष चन्द, युना शाही र सन्तोष आस्ना पाल सह-निर्माताका रूपमा रहेका छन् भने रोयल भीमसेन (भीमसेन शाही) कार्यकारी निर्माता हुन्।
चलचित्रमा अरुण क्षेत्री, प्रकाश शाह र सुप्रज्ञा शर्मासँगै गरिमा शर्मा, सरोज खनाल, रमेश बुढाथोकी, रुजा राउत, रोशनी दाहाल, गीता अधिकारी, सुरज भण्डारी, टेकराज शर्मा र लालबहादुर थापालगायत कलाकारको अभिनय रहेको छ।
चलचित्रको सम्पादन निर्देशक जीवन सिंह स्वयंले गरेका छन्। कृष्ण थापा डीओपी, शुक्रराज शाह द्वन्द्व निर्देशक, विक्रम स्वाँर र सञ्जय खिमजिम कोरियोग्राफर तथा बाबुल गिरी, चक्र बम र महेश ताम्राकार संगीतकारका रूपमा आबद्ध छन्।
दसैंको माहोललाई लक्षित गर्दै प्रदर्शनमा आउन लागेको ‘हन्टर’ले एक्सन, प्रेम, भावना र ड्रामाको सशक्त संयोजनमार्फत विशेषगरी ‘मास अडियन्स’लाई आकर्षित गर्ने निर्माण पक्षको विश्वास छ। सार्वजनिक पोस्टरले नै चलचित्रप्रति सकारात्मक चर्चा र उत्सुकता सिर्जना गर्न सफल भएको देखिन्छ।
चलचित्रको देशव्यापी वितरण रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले गर्ने भएको छ।

