काठमाडौं । एलजी इलेक्ट्रोनिक्सले नेपाली बजारमा नयाँ ‘डुअलकुल इन्भर्टर एयर कन्डिसनर’ श्रृंखला सार्वजनिक गरेको छ । होटेल भिभान्तामा आयोजित विशेष कार्यक्रममा सार्वजनिक गरिएको हो । यसमा नेपाली उपभोक्ताको ऊर्जा बचत, स्मार्ट नियन्त्रण तथा भरपर्दो शीतलता आवश्यकतालाई ध्यानमा राखेर विकास गरिएको कम्पनीले जनाएको छ ।
नयाँ डुअलकुल एयर कन्डिसनरको मुख्य आकर्षण एलजीको नवीन ‘किलोवाट म्यानेजर’ प्रविधि हो । उक्त प्रविधिमार्फत महिनामा कति युनिट बिजुली खपत गर्ने हो त्यसको सुविधा सेट गर्न मिल्ने कम्पनीले जनाएको छ ।
यस स्मार्ट सुविधाले प्रयोगकर्तालाई एयर कन्डिसनरको विद्युत् खपत प्रभावकारी रूपमा नियन्त्रण गर्न सहयोग पुर्याउँछ । बढ्दो विद्युत् शुल्क तथा ऊर्जा लागतका बीच उपभोक्तालाई अनुमानयोग्य तथा किफायती सञ्चालन अनुभव प्रदान गर्ने उद्देश्यले यो प्रविधि विकसित गरिएको बताइएको छ ।
उत्पादनको औपचारिक अनावरण चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले गरेका छन् ।
‘किलोवाट म्यानेजर’मार्फत प्रयोगकर्ताले आफूले चाहेको विद्युत् खपत सीमा तथा सञ्चालन अवधि निर्धारण गर्न सक्नेछन् । साथै, ‘एलजी थिनक्यु’ कनेक्टिभिटीमार्फत वास्तविक समयको विद्युत् खपत अनुगमन गर्न, अत्यधिक ऊर्जा प्रयोगबारे सूचना प्राप्त गर्न तथा स्वचालित ऊर्जा बचत अनुकूलन सुविधा प्रयोग गर्न सकिनेछ ।
यस प्रणालीले पूर्वनिर्धारित ऊर्जा सीमाभित्र रहँदै आरामदायी शीतलता कायम गर्न एयर कन्डिसनरको कार्यक्षमता स्वचालित रूपमा समायोजन गर्ने भएकाले अनपेक्षित विद्युत् बिल वृद्धिबाट बच्न सहयोग पुग्ने कम्पनीको दाबी छ ।
नयाँ डुअलकुल श्रृंखलामा ‘डुअल इन्भर्टर कम्प्रेसर’ प्रविधि प्रयोग गरिएको छ, जसले ७० प्रतिशतसम्म ऊर्जा बचत गर्नुका साथै ४० प्रतिशतसम्म छिटो शीतलन प्रदान गर्ने बताइएको छ ।
त्यसैगरी, एयर कन्डिसनरमा समावेश गरिएको ‘फ्रिज क्लिन’ प्रविधिले इभापोरेटरमा जम्मा हुने धुलो तथा ब्याक्टेरियालाई सफा गर्दै स्वच्छ हावा प्रवाह सुनिश्चित गर्छ । यस प्रविधिअन्तर्गत इभापोरेटर वरिपरि बरफको तह बनाई त्यसलाई पगालेर अशुद्ध पदार्थ बाहिर निकालिने प्रणाली प्रयोग गरिएको छ । कम्पनीका अनुसार यसले इभापोरेटरमा रहेका ९९ प्रतिशतसम्म ब्याक्टेरिया हटाउन सक्षम छ ।
नेपाली वातावरण तथा विद्युत् अवस्थालाई ध्यानमा राखेर नयाँ एयर कन्डिसनरमा गोल्ड फिन प्लस एन्टि–कोरोसन कोटिङ, १०० प्रतिशत कपर ट्युब तथा स्टेबलाइजर–फ्री सञ्चालन सुविधा पनि समावेश गरिएको छ । यी सुविधाले दीर्घकालीन टिकाउपन, राम्रो ताप स्थानान्तरण तथा भोल्टेज उतारचढावबीच पनि भरपर्दो सञ्चालन सुनिश्चित गर्ने कम्पनीले जनाएको छ ।
यस श्रृंखलामा कनभर्टिबल ‘फाइभ–इन–वन’ मोड, ऊर्जा बचत सञ्चालन तथा उन्नत टिकाउ प्रविधिहरू पनि समावेश छन् ।
कार्यक्रममा बोल्दै सीजी इलेक्ट्रोनिक्सका मार्केटिङ विभागका महाप्रबन्धक गौरव हमालले ऊर्जा दक्षता अहिले नेपाली घरपरिवारको प्रमुख आवश्यकता बन्दै गएको उल्लेख गर्दै नयाँ ‘किलोवाट म्यानेजर’ प्रविधिले उपभोक्तालाई विद्युत् खपत तथा घरेलु खर्चमा प्रभावकारी नियन्त्रण प्रदान गर्ने विश्वास व्यक्त गरे ।
एलजी इलेक्ट्रोनिक्स विश्वस्तरीय घरेलु उपकरण, उपभोक्ता इलेक्ट्रोनिक्स तथा एयर समाधान प्रदायक कम्पनी हो । कम्पनी ऊर्जा–दक्ष प्रविधि, नवीन डिजाइन तथा उपभोक्ता–केन्द्रित उत्पादनका लागि परिचित छ ।
त्यसैगरी, सिजी इलेक्ट्रोनिक्स सीजी कर्प ग्लोबलअन्तर्गतको कम्पनी हो । नेपालमा एलजी उत्पादनको आधिकारिक वितरकका रूपमा कार्यरत छ । चार दशकभन्दा लामो सहकार्यमार्फत एलजी नेपालमा प्रिमियम उपभोक्ता इलेक्ट्रोनिक्स ब्रान्डका रूपमा स्थापित रहेको कम्पनीले जनाएको छ ।



