शुक्रबार, १२ साउन २०८०
काठमाडौँ । चीनको हाङ्झाउमा आयोजना हुने १९औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड) मा नेपालबाट दुई सय ३४ जना खेलाडीले सहभागिता जनाउने भएका छन् । प्रतियोगितामा नेपालले २९ वटा खेलमा भाग लिँदै छ । १९औँ एसियाली खेलकुदको तयारी तथा सहभागीको विषयमा राष्ट्रिय खेल सङ्घहरूसँगको छलफल कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले उक्त जानकारी दिएका हुन् ।
‘नेपालले विभिन्न २९ खेलमा दुई सय ३४ जना खेलाडी सहभागी गराउने छ । सकेसम्म बढी खेलाडीले एसियाडजस्तो ठुलो अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव सँगाल्ने अवसर पाउन भनेर निकै मेहनत गरी खेलाडी सङ्ख्या दुई सय ३४ पुर्याइएको हो,’ सदस्यसचिव घिसिङले भने ।
सदस्यसचिव घिसिङले आगामी एसियाली खेलकुदमा नेपालको सहभागिताका लागि सरकारसँग आफूहरूले २४ करोड रुपैयाँ माग गरेको जानकारी पनि दिए । ‘आगामी एसियाडका लागि हामीले २४ करोड माग गरेका थियौँ । हालसम्म २१ करोड रुपैयाँको सहमति प्राप्त भइसकेको छ । बाँकीका लागि पनि प्रयास भइरहेको छ,’ उनले भने । खेलाडीको प्लेइङ किट्स (आवश्यक खेल सामाग्री) का लागि सम्बन्धित संघहरुलाई आवश्यक तयारी थाल्न सुझाव दिए । ‘कुनै संघले एसियाडको तयारीका लागि अन्तर्राष्ट्रिय प्रतियोगिता, वैदेशिक प्रशिक्षण वा विदेशी प्रशिक्षक स्वदेशमा झिकाउन चाहेमा आवश्यकताका आधारमा एसियाली खेलकुद तयारी सचिवालयमा प्रस्ताव पेस गर्नु होला,’ उनले भने । हाङझाउ एसियाड आगामी असोज ६ गतदेखि सुरु हुँदैछ ।यसअघि १६औँ एसियाली खेलकुद पनि चीनमै भएको थियो ।
सुरुआती चरणमा नेपालले आगामी एसियाडमा २३ वटा खेलमा मात्र सहभागिता जनाउने निर्णय लिएको थियो । त्यतिबेला नेपालले तेक्वान्दो, कराँते, बक्सिङ, एथलेटिक्स, साइक्लिङ, फुटबल, गल्फ, जुडो, पौडी, ट्रायथलन, उसु, कुस्ती, भारोत्तोलन, आर्चरी, बास्केटबल, फेन्सिङ, ह्याण्डबल, कबड्डी, टेबलटेनिस, भलिबल, ब्याडमिन्टन, क्रिकेट र शुटिङ गरी २३ खेलमा सहभागिता जनाउने निर्णय गरेको थियो ।
त्यसपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठकले रग्बी, स्क्वास, टेनिस, इ—स्पोर्टस र डान्स स्पोर्टस गरी पाँचवटा खेल थप्ने निर्णय गरेको थियो । बोर्ड बैठकले २८ खेलका लागि सरकारसँग २९ करोड रुपैयाँ बजेट माग्ने निर्णय गरेको थियो । त्यसपछि राखेपले नेपाल र्याफ्टिङ एन्ड क्यानोइङ एसोसिएसनको आग्रहमा अर्को एक खेल थप्ने निर्णय गरेको हो ।
समग्रमा नेपालले हालसम्म एसियाली खेलकुदमा दुई रजत र २३ कांस्य गरी २५ वटा पदक मात्र जित्न सकेको छ । नेपालले तेक्वान्दोमा एक रजत र १४ कांस्य, प्याराग्लाइडिङमा एक रजत, बक्सिङमा ६ कांस्य र कराँतेमा तीन कांस्य पदक जितेको हो ।



