काठमाडौँ / आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको नैतिकता कायम राख्ने उद्देश्यसहित टिकटक र निर्वाचन आयोग, नेपालबीच सहकार्यको समझदारीपत्रमा हस्ताक्षर भएको छ। माघ २१ गते आयोग परिसरमा आयोजित कार्यक्रममा दुवै पक्षबीच समझदारीपत्र आदान–प्रदान गरिएको हो।
यस सहकार्यअन्तर्गत टिकटकले निर्वाचन नैतिकता सम्बन्धी क्षमता अभिवृद्धि कार्यशाला पनि सञ्चालन गरेको छ। कार्यशालामा जिम्मेवार डिजिटल सहभागिता, भ्रामक सूचनासँग जुध्ने उपाय तथा सरोकारवालाहरूबीच निर्वाचनको गरिमा र निष्पक्षताबारे साझा बुझाइ विकास गर्ने विषयमा छलफल गरिएको थियो।
आसन्न आम निर्वाचनलाई लक्षित गर्दै आयोजना गरिएको कार्यशालामा टिकटकले आफ्नो प्लेटफर्ममार्फत निर्वाचन प्रक्रियाको संरक्षण कसरी गरिन्छ भन्नेबारे आयोगका पदाधिकारीहरूलाई जानकारी गराएको थियो। यस क्रममा टिकटकका सामुदायिक निर्देशिका, भ्रामक सूचना, राजनीतिक सामग्री तथा भ्रामक व्यवहारसम्बन्धी नीतिहरूका बारेमा प्रस्तुति दिइएको थियो।
साथै, प्रयोगकर्ताले विश्वसनीय सूचना कसरी प्राप्त गर्ने, सम्भावित उल्लङ्घनबारे कसरी जानकारी गराउने तथा निर्वाचनसम्बन्धी सामग्री टिकटक प्लेटफर्ममा कसरी व्यवस्थापन गरिन्छ भन्ने विषयमा प्रयोग हुने उपकरण तथा सुविधाबारे पनि जानकारी प्रदान गरिएको थियो।
टिकटक दक्षिण एसियाका सार्वजनिक नीति तथा सरकारी सम्बन्ध प्रमुख फिर्दौस मोत्तकिनले लोकतन्त्रका लागि निर्वाचन अत्यन्त महत्वपूर्ण क्षण भएको उल्लेख गर्दै भने, “सार्वजनिक संवादलाई आकार दिने प्लेटफर्मका रूपमा टिकटकले आफ्नो जिम्मेवारीलाई गम्भीरतापूर्वक लिन्छ। यस सहकार्यबाट सचेत सहभागिता प्रवर्द्धन गर्ने, निर्वाचनको निष्पक्षता सुदृढ गर्ने र सकारात्मक डिजिटल अभिव्यक्तिका लागि सुरक्षित वातावरण उपलब्ध गराउने हाम्रो लक्ष्य हो।”
निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले डिजिटल प्लेटफर्मको जिम्मेवार प्रयोग र निर्वाचन नैतिकता प्रवर्द्धनका लागि टिकटकसँगको सहकार्यलाई आयोगले स्वागत गरेको बताए। उनले यस्ता सहकार्यले भ्रामक सूचनाबारे सचेतना बढाउन र निर्वाचन प्रक्रियामा नागरिकको जिम्मेवार सहभागितालाई टेवा पुर्याउने उल्लेख गरे।
टिकटकले निर्वाचनको नैतिकता सुदृढ गर्न तथा नेपाली समुदायका लागि विश्वसनीय सूचना वातावरण निर्माण गर्न निर्वाचन आयोग र अन्य सरोकारवालासँग निरन्तर सहकार्य गर्ने जनाएको छ।



